प्रदेश नं २ मा ७३ प्रतिशत मतदान, कुन जिल्लामा कति ?


 


काठमाडौँ, असोज २
स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

आयोगका अनुसार सबभन्दा बढी रौतहट र बारामा ७५ प्रतिशत मत खसेको छ । त्यस्तै सिरहामा ७३, सर्लाही र पर्सामा ७२ तथा सप्तरी, धनुषा र महोत्तरीमा ७० प्रतिशत मत खसेको छ ।

कुल २६ लाख ६४ हजार ५ सय ९० मतदाता रहेकोमा सोमबारको निर्वाचनमा १९ लाख २० हजार ३ सय ७२ जनाले मतदान गरेको आयोगको तथ्यांकमा उल्लेख छ ।

बारामा ७५ प्रतिशत मतदान

बारा जिल्लामा ७५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाका अनुसार बाराका १६ वटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट आज बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ ।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बारामा तीन लाख ३४ हजार ७४६ मतदाताले आ–आफ्नो मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले लाइनबद्ध भई मतदान गरेको जनाएको छ ।

स्थानीय प्रशासनले शान्तिसुरक्षाको राम्रो व्यवस्था गरेको हुनाले मतदाताहरु निर्धक्क भई मतदान गरेको र मतदान केन्द्रमा कुनै प्रकारको घटनासमेत नभएको कुरा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए।

मतपेटिकाहरु सम्बन्धित मतदानस्थलमा आइपुगेपछि आज रातीदेखि नै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

पर्सामा ७२ प्रतिशत मतदान

यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७२ प्रतिशत मतदान भएको छ । पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्