देउवालाई अझै पुगेन मन्त्रीको संख्या, फेरि थपे दुई मन्त्री (को–को छन् ?)


 


काठमाडौँ, असोज २
५४ सदस्यीय मन्त्रीमण्डल गठन गर्दा समेत शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन् । अझ भनौ देउवालाई यो संख्याले चित्त बुझेकै छैन् ।

त्यसैले त थप दुईजना मन्त्री विस्तार गरेर अझ जम्बो आकारको मन्त्रीमण्डल गठन गर्न देउवा अघि सरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सिफारिसमा देउवाले थप दुईजना राज्यमन्त्री थप गर्न लागेका हुन् । राप्रपाले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै शपथ गराउने कार्यक्रम रहेको छ । दुई जना राज्यमन्त्री थपिएपछि मन्त्रीमण्डलको संख्या ५६ पुग्ने भएको छ ।

विष्ट र शर्मा राज्यमन्त्रीमा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का तर्फबाट विराज विष्टलाई विज्ञान तथा प्रविधि र कमला शर्मालाई आज वन तथा भूसंरक्षण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई सो पदको शपथ गराउनुभएको हो । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायकमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलो पटक राज्यमन्त्री बन्नुभएको हो ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले विष्ट र शर्मालाई राज्यमन्त्रीमा पार्टीको सिफारिससहित उहाँहरुको नाम प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । नवनियुक्त राज्यमन्त्रीद्वय विष्ट र शर्माले आजै कार्यालयमा पुगेर पदबहाली गर्नुभएको छ ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्