विदेशबाट नेपाल आउँदा के सामानमा भन्सार लाग्छ केमा लाग्दैन ?


 


काठमाडौं, असोज २
विदेशबाट नेपाल आउँदै हुुनुहुन्छ ? फेरी यो सिजन चाडपर्वको हो । लामो समय विदेशमा बसेर घर फर्कदै गर्दा केही न केही सामान त घर लिएरै जानु पर्याे भन्ने पक्कै तपाईले सोच्नु भएकै छ ।

त्यसैले तपाई नेपाल फर्किनेहरुका लागि यी विभिन्न सामानमा सरकारले भन्सार ललाग्ने ब्यवस्था मिलाएको छ । विदेशबाट फर्कदा के सामानमा भन्सार लाग्छ, के मा लाग्दैन ? यो कुरा जानकारी राखेर सामान ल्याउँदा फाइदा हुन्छ, नत्र महंगो भन्सार समेत तिर्नुपर्ने हुनसक्छ ।

यस्ता छन् भन्सार नलाग्ने सामान

एक लिटर रक्सी ल्याउन पाईन्छ । ल्यापटप, कम्प्युटर, घडी, भिडियो क्यामरा, क्यामरा, ट्यावलेट, मोबाइल फोन एक एक थान ल्याउँदा भन्सार लाग्दैन । त्यस्तै ३२ इन्चसम्मको टिभी ल्याउँदा पनि पूर्ण भन्सार छुट पाउने व्यवस्था छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १–१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।

विदेशेमा काम गरेर फर्किएकाहरुलाई दर्इ थानसम्म नयाँ मोबाइल ल्याउँदा पनि ब्यवहारिकता हेरेर कडाइ नगर्ने गरेको पाइन्छ ।

विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १र१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन् । तर, ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन पाइँदैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

के केमा भन्सार लाग्छ ?

केही सामग्रीमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।

३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ ।

घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २र२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २र२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् । चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।

काँचो सुनमा पूर्ण रोक

अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइँदैन । सरकारले गहना बनिसकेका बाहेकको काँचो सुन नेपालमा ल्याउन प्रतिवन्ध लगाएको छ । अहिले सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म मात्रै ल्याउन पाइन्छ ।

पछिल्लो समयमा बैंकहरुले १०० ग्रामको ढिक्का सुन ल्याउन पाउने व्यवस्थाबारेको खबरले धेरैलाई अलमलमा पारेको छ । तर, त्यो बैंकका लागि मात्रै हो भन्ने बुझ्नुपर्छ ।

कुनैपनि व्यक्तिले काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन । तयारी गहना भने ५० ग्रामसम्म ल्याउन अनुमति हुन्छ । यसमा कुनै भन्सार पनि लाग्दैन ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्