प्रदेश नम्बर २ मा आज निर्वाचन


 


काठमाडौं, असोज २
प्रदेश २ का आठ जिल्लामा आज स्थानीय तह तेस्रो चरणको निर्वाचन हुँदैछ । नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान गर्दै छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकेको छ।


यो निर्वाचनले ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्नेछन् । यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा प्रदेश नं १, ३, ४, ५ तथा ६ का स्थानीय तहमा निर्वाचन सम्पन्न भई प्रतिनिधिले काम गर्नसमेत थालिसकेका छन् ।

निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् ।

मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य छन् ।सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ ।

२ नम्बर प्रदेशमा निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था निकै कडा बनाइएकोछ। निर्वाचन बिथोल्ने आकलन गरिएका सिके राउत, विप्लव माओवादी र जयकृष्ण गोइत समूहका केही कार्यकर्तालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

निर्वाचनविरुद्ध रहेको भन्दै प्रहरीले सप्तरी, सिरहा, धनुषाका विभिन्न भागबाट केही मानिसलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाएको छ । यहाँ तीनवटै सुरक्षा निकायलाई तालिमप्राप्त कुकुर र हेलिकप्टरसहित सेना पनि परिचालन गरिएको छ।

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्