आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द


 


वीरगन्ज, भदौ ३१

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति आवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउने सवारी साधनबाहेक पैदल यात्रुलाई कडाइका साथ जाँच गरी आवतजावत गर्न दिएको छ ।

एम्बुलेन्स र पेट्रोलियम गाडी तथा भारतबाट रेलमार्ग हुँदै अलौँस्थित सुक्खा बन्दरगाहसम्म रेल तथा कन्टेनरलाई सामानसहित आवतजावत गर्न दिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

यसैगरी नेपाल–भारतको सीमाक्षेत्रअन्तर्गत पर्साको इनर्वा, पगेना, बलरामपुर, भेलाई, सिंकटा, नरकटियागन्ज तथा बाराको आदापुर, घोडासहन, छोरादानो लगायतका नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

पैदल यात्री, बिमारी बोकेको एम्बुलेन्स तथा अति आवश्यक कामबाहेकका कसैलाई पनि आवतजावत दिएको छैन ।

केही दिनअघि नेपाल–भारतका सुरक्षा अधिकारीको वीरगन्जमा भएको नेपाल–भारत संयुक्त बैठकले प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएअनुरुप भारतीय अधिकारी पनि आफ्नो नाकामा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

सीमा नाका बन्द सीमा नाका बन्द 

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सप्तरी जिल्लास्थित नेपाल–भारत सीमा आजबाट ७२ घन्टाका लागि बन्द गरिएको छ  ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि असोज २ गते सोमबारसम्म ७२ घन्टाका लागि  सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढीकरण समेत बनाइएको उहाँले आज राससलाई जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी, शासस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै उहाँले सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका सुरक्षा फौजले संयुक्तरुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो । रासस

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्