प्रदेश नं १ को राजधानी इटहरी बन्न पूर्वाधारयुक्त : अध्यक्ष ओली


 


इटहरी, भदौ ३१

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको शान्ति सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा औद्योगिकताका हिसाबले पनि सम्पन्न बन्दै गइरहेको इटहरीलाई प्रदेश नं १ को राजधानी बनाउन सबै पूर्वाधारयुक्त रहेकाले अन्यत्रले दाबी गर्नुको औचित्य नरहेको बताउनुभएको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले आज इटहरी उपमहानगरपालिकाको प्रथम नगरपरिषद् सभाको उद्घाटनपछि पार्टी र आफ्नो धारणा राख्नुहुँदा उहाँले सप्रसङ्ग औचित्य रहेको पुष्टि गर्नुभएको हो ।

उहाँले सोही सन्दर्भमा हिन्दू धर्मका चारधाममध्ये नेपालमा दुई धाम रहेको तथा त्यसमा पनि सबैभन्दा महत्वपूर्ण धामका रुपमा बराह क्षेत्र पनि यही सुनसरीमा रहेकाले पनि इटहरीले प्रदेशको राजधानी बन्ने अवसर आफैँ प्राप्त गर्ने पनि स्पष्ट पार्नुभयो ।

विकास र देशको समृद्धितर्फ डोहो¥याउने विषयमा कसैले पनि थोत्रो राजनीति नगरे हुन्छ भन्ने चेतावनी दिनुहुँदै उहाँले नेपालमा विकास योजना सम्पन्न गर्नका लागि अथाह पुँजी रहेको तर राज्यसँग इच्छा शक्ति अभाव रहँदै आएकाले नेपाली जनताले चाहे मुताविकको विकास अघि बढ्न नसकेको अध्यक्ष ओलीले दाबी गर्नुभयो ।

विकासका हरेक योजना सम्पन्न गर्न राज्यले अर्बौं बजेट निकासा गर्दै आएको भए पनि त्यो योजना समयमा नै निर्माण हुन नसकी विकास बजेट फ्रिज भएर आउने रोग विद्यमान रहेकाले अब त्यसलाई चिर्नका लागि स्थानीय तहका निर्वाचित पदाधिकारीले थोत्रो राजनीतिक अभिष्ट बोकेर विकास योजनामा भाँजो हाल्ने दुष्ट्याँईपूर्ण कार्य कहीँकतैबाट हुन नदिन पनि चनाखो बन्नु पर्दछ भन्नुभयो ।

विकासकै प्रसङ्गमा पूर्वप्रधानमन्त्री ओलीले संयुक्तराष्ट्र संघले विश्वका १९३ राष्ट्रको सामूहिक हस्ताक्षर गरेर दिगो विकास लक्ष्य सार्वजनिक गरी आगामी सन् २०३० सम्ममा विश्वलाई विकासको अग्रगामी पथमा अघि बढाउने योजना बनाएकाले हामी नेपालीले पनि ट्र्याक्टर दौड होइन तीव्रगतिको विकास नीति लिएर अघि बढ्न जरुरी रहेकोमा उहाँले विशेष जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले हामी नेपालीले विद्युतीय रेल चलाउनसक्ने क्षमता राख्छाँै, तर त्यसका लागि सम्पूर्ण राजनीतिक दलका नेताले राष्ट्र र जनताप्रति इमान्दार भएर देशलाई समृद्धिको बाटोमा हिँडाउने कसम खान जरुरी हुन्छ भन्नुहुँदै अब देशले हरेक वर्ष साढे चारलाख युवालाई रोजगार दिने नीति र योजना ल्याई देशलाई चुस्त गतिले विकास पथमा अग्रसर गराउन पनि अध्यक्ष ओलीले सबैको ध्यानाकर्षण गराउनुभयो ।

देशभित्र स्वस्थ र स्वच्छ तथा नेपालीको स्वास्थ्य नबिग्रने प्राङ्गारिक कृषि उत्पादन गरेर देशलाई आर्थिक क्रान्तितर्फ अग्रसर गराउनसक्ने प्रचुर सम्भावना रहेको उल्लेख गर्नुहुँदै पूर्वप्रम ओलीले देशमा सञ्चालनमा रहेका ठूला सरकारी उद्योग कौडीका मोलमा बिक्री गरेको वा निजीकरण गरेर राज्यले के प्राप्त ग¥यो त्यतातिर गहनरुपमा विश्लेषण गर्न पनि अब पछि हट्न नहुनेतर्फ सम्पूर्ण राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले) बाहेकका राजनीतिक दलको सहभागिताबिना नै शुरु भएको इटहरी उपमहानगरको प्रथम नगरपरिषद् सभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले इटहरी नगरका पूर्वप्रमुख सर्वध्वज साँवा र पूर्वउपप्रमुख  तथा सांसद रेवतीरमण भण्डारीलाई सम्मानसमेत गर्नुभयो ।

पहिलो पटक जननिर्वाचित इटहरी उपमहानगरका जनप्रतिनिधिले आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रमबाहेक नै प्रथम नगरपरिषद् गर्न खोजेको र अन्य राजनीतिक दलले उठाएका विकासका सवाललाई नेकपा (एमाले)ले समेट्ने कोशिस समेत नगरेको भन्दै एमालेबाहेकका सबै राजनीतिक दल नगरपरिषद् सभा समारोहमा सहभागी भएका थिएनन् ।

नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा शुरु भएको नगरपरिषद् सभामा पूर्वप्रमुख सर्वध्वज साँवा, सांसद एवं पूर्वउपप्रमुख रेवतीरमण भण्डारी, उपप्रमुख लक्ष्मी गौतम र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लीलम बस्नेतले पनि बोल्नुभएको थियो । रासस

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्