मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनलमा


 


काठमाडौं, भदौ ३१

एसीसी यु–१९ एशिया कप छनोटको खेल अन्तर्गत नेपाल सेमीफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाले दिएको १२२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले २३.१ ओभरमै विना विकेट लक्ष्य पूरा गर्यो । नेपालको लागि ओपनर सन्दिप सुनार र आसिफ शेखले अर्धशतक पुरा गरे ।

आसिफले ५० तथा सन्दिपले ५१ रनको अविजित इनिंग खेले । आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे भने सन्दिपले ७७ बलमा ८ चौका प्रहार गरेका थिए । किनरारा ओभल मैदानमा टस जितेको नेपालले मलेसियालाई ब्याटिंगको निम्तो दिएको थियो ।

नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले अफ स्पिन बलिंग गर्दै सर्बाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित २९ रन खर्चेका थिए । यस्तै पवन सर्राफले २ विकेट हात पारेका थिए भने शाहब आलम, सन्दिप लामिछाने र रोहित पौडेलले १–१ विकेट आफ्नो नाम गरे ।

मलेसियाको लागि नलिन डी सिल्भाले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान भिरनदिप सिंहले २५ रन योगदान दिए । यस्तै मोहम्मद शाहरियलले १६ रन योगदान दिए ।

प्रकाशित मिति: ३१ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्