प्रदेश २ मा शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदै, के–के गर्न मिल्दैन ?


 


काठमाडौं, भदौ २९
स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तर्गत आगामी असोज २ गतेदेखि प्रदेश नम्बर २ मा हुने चुनावका लागि शुक्रबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ ।

सो अवधिमा दलहरुले चुनाव प्रचार प्रसार वा कुनैपनि वाहानामा भोट माग्न बन्देज गरिएको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चारजगत कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाउने छैनन् ।

मौन अवधिमा फेसबुक, भाइबर जस्ता सामानिक सञ्जालबाट समेत भोट माग्न र चुनाव प्रचार गर्न पाइँदैन । आयोगले बिहीबार सूचना जारी गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा निम्न बमोजिम आचरण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

के–के गर्न मिल्दैन ?
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नपाइने नियम लगाइएकाे छ । त्यस्तै, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

 

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्