एसीसी यू–१९ इस्टर्न क्रिकेटः भुटानविरुद्ध नेपालको सहज जित


 


काठमाडौं, भदौ २८
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले भुटानविरुद्ध सहज जित निकालेको छ । यससंगै नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।


आज विहान भएको खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले आठ ओभर तीन बलमै पूरा गर्यो । नेपालको इनिङमा आसिफ शेख २३ र अनिलकुमार साह ४ रनमा नटआउट रहे। ओपनर सन्दीप सुनारले २१ रन बनाए ।

भुटानका लागि छिरिङ पेनजोरले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिले व्याटिङ गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्र बनाउन सक्यो । सो क्रममा नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिदै ४ विकेट लिए। नन्दन यादवले १ विकेट लिए।

भुटानका लागि दुई खेलाडीले मात्र दोहोरो स्कोर बनाउन सके । कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन बनाए। यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २५५ रनको जित निकालेको थियो।

 

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्