जग्गा बाढीले बगर बनेपछि १६ परिवारको विचल्ली


 


कञ्चनपुर, भदौ २८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ दुवाहाका १६ परिवारको जग्गा वनहरा नदीमा आएको बाढीले बगाउँदा विचल्लीमा परेका छन् ।

खेती लगाउँदै आएको झण्डै दुई बिगाहा दश कट्ठा जग्गा भदौ दोस्रो साता आएको बाढीले बगाएपछि खेतीमै आश्रित परिवार समस्यामा परेका हुन् ।

धान र सखरखण्डी लगाएको खेत नदीमा आएको बाढीले कटान गरी बगरमा परिणत गरेको स्थानीय मंगल चौधरीले बताउनुभयो । “जग्गा बगेपछि पीडित परिवारले मजदुरी गरी दैनिक गुजारा चलाउनु पर्ने अवस्था आएको छ” उहाँले भन्नुभयो ।

जग्गा नदीले बगाएपछि ती परिवारसँग अब घरमात्रै बाँकी रहेको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले दातृ निकायको सहयोगमा ६० मिटर लामो अस्थायी तटबन्ध निर्माणको कार्य गरी जग्गा कटानको कार्य रोकथाम गरिरहेको छ ।

तटबन्ध निर्माणको कार्यमा स्थानीयले श्रमदान गरिरहेका छन् । तत्काल स्थायी समाधानको उपाय नगरिए जग्गा कटानको चपेटामा परेका १६ परिवारसहित अन्य परिवार गरी ३५ परिवार विस्थापनमा पर्ने भएका छन् । रासस

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्