सुन ४८ हजार, नुन ६० रुपैयाँ !


 


मुस्ताङ, साउन १२

उपल्लो मुस्ताङका सर्वसाधारण चर्को मूल्यका कारण अझै ढिके नुन खाएर जीविका चलाउँदै आएका छन् । आयोडिनयुक्त धुलो नुन अत्यधिक महँगो हुनुका साथै पर्याप्त मात्रामा नपाइने हुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र छुसाङ गाविसका करिब चार हजार सर्वसाधारणले वर्षौंदेखि ढिके नुनकै भरमा जीविका चलाउँदै आएका हुन् ।

यी गाविसमा जिल्ला सदरमुकाम जोमसोमबाट प्याकेटमा पाइने आयोडिन नुन पुर्‍याउन सकिएको छैन । स्थानीय केही व्यापारीले मुस्किलले पुर्‍याए पनि प्रतिप्याकेट रु ६० पर्छ । त्यो सदरमुकाम जोमसोममा पाइनेभन्दा तेब्बरले महँगो हो ।

आयोडिन नुन महँगो पर्नु र नियमित नहुँदा ढिके नुनले जीविका चलाउँदै आएको चर्राङकी पेमा खान्डोले बताए । ‘चाइनाबाट यस क्षेत्रमा निःशुल्क ढिके नुन आउँछ, त्यसैले पनि यहाँका सर्वसाधारणले आयोडिन नुनमा ध्यान नदिएका हुन्, उनले भने, ‘आयोडिन नुन देख्दासमेत अनौठो मान्छन् ।’

वर्षको दुईपटक उपल्लो मुस्ताङी र चिनियाँ व्यापारीबीच आयोजना गरिने व्यापार मेलामा चीन सरकारले सीमा आसपासका सर्वसाधारणका लागि भन्दै छ गाविसलाई प्रतिघर आठ पाथीका दरले निःशुल्क ढिके नुन वितरण गर्छ । ‘वर्षको १६ पाथी निःशुल्क ढिके नुन पाइने भएपछि खोजीखोजी आयोडिन नुन खाने कुरै भएन्,’ लोमान्थाङकी टासी टुस्टेनले भने, ‘एक पटक लिएर राख्यौँ भने छ महिनालाई ढुक्क हुन्छ ।’

उनका अनुसार, केही होटलमा आयोडिन नुन प्रयोग गर्ने गरिए पनि त्यो एकदमै कम छ । राष्ट्रिय जनगणना २०६८ अनुसार, चराङमा १ सय ३२, छोण्हुपमा २ सय २, छोसेरमा १ सय ५८, छुसाङमा १ सय ६८, घमीमा १ सय ६९ र लोमान्थाङमा १ सय ७२ घरधुरीमा तीन हजार ४ सय ७४ जनसंख्या छ । ‘यहाँका स्थानीयले त ढिके नुन खाएर जीविका चलाएका छन्, केही सरकारी कर्मचारीले तलबाट बोकेर ल्याएर खाए मात्र हो, नत्र उनीहरुको पनि विकल्प छैन्,’ टासीले भने ।

प्रकाशित मिति: १२ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्