बालकलाई बलि दिएको घटनाको बालवालिकाद्वारा विरोध


 


घोराही, १२ साउन

नवलपरासी जिल्लाको कुडिया गाविस ४ निवासी १० बर्षिय जीवन कोहारलाई छिमेकीले बलि दिने नाममा हत्या गरेको घटनाको दाङका बालवालिकाले पनि विरोध गरेका छन् । जिल्ला बाल सञ्जाल दाङले विज्ञप्ती जारी गरेर १० बर्षिय बालकलाई बली चलाइएको घटनामा ध्यानाकर्षण भएको भन्दै घटनाले सवै बालवालिकालाई गम्भिर बनाएको उल्लेख गरेका छन् ।

जिल्ला बाल सञ्जालका अध्यक्ष नविन जिएम र सचिव आकाश भण्डारीले विज्ञप्ती जारी गरेर बलि दिने नाममा बालवालिकाको हत्या गरिएको कुरा सुन्दा आफूहरुलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन् । मानिसको बाँच्न पाउने अधिकारको सामान्य सिद्धान्तलाई पनि भुलेर सभ्य समाजका लागि नसुहाउने घटना घटाइएको भन्दै घटनामा संलग्न रहेकाहरुलाई कडा भन्दा कडा कारवाही गर्न पनि माग गरेका छन् ।

विज्ञप्तीमा बालवालिकाको बाँच्न पाउने अधिकारको ग्यारेन्टीको पनि माग गरिएको छ । कुनै पनि मूल्यमा बालवालिकालाई हत्या गर्ने, अपरहण गर्ने, बन्धक बनाउने, कठिन श्रममा लगाउने जस्ता कार्यको आफूहरु जहिले पनि विरोधमा रहेको पनि उल्लेख गरिएको छ ।

अध्यक्ष जिए र सचिव भण्डारीले जारी गरेको विज्ञप्तीमा नवलपरासीमा १० बर्षिय बालकको क्रुरतापूर्ण हत्या गरिएको विरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने उल्लेख गरिएको छ । विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागिताका लागि सवै बालवालिका, संचारकर्मी लगायतलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्