यी दुई कामले निहुरियो जनताको शीर


 


काठमाडौं, भदौ २६
प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीसहित चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गर्दैछन् । चार मन्त्रीलाई नियुक्ति गरेकोबारे देउवाले आइतबार नै राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेका छन् । आज मन्त्रीको सपथ हुँदैछ ।

आफू प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिनापछि पाँचौं पटक मन्त्रीमण्डल विस्तार गरेका देउवाले अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएर किर्तिमान कायम गरेका छन् । उनले यसअघि आफ्नै नाममा रहेको सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डलको पनि रेकर्ड तोडेको छन् ।

२०५२ सालमा प्रधानमन्त्री हुँदा ५२ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसको २४ वर्षपछि प्रधानमन्त्री हुँदा त्यो भन्दा झन ठूलो मन्त्रिमण्डलको किर्तिमान राखे । दल र नेताहरुलाई आफ्नो एजेण्डा तथा पक्षमा पार्न देउवा ठूलो आकारको मन्त्रिमण्डल बनाउन तयार भएका हुन् ।

उनले आज पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)बाट एक राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाउँदैछन् । जसमा राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता दिपक बोहरा, उपनेता विक्रम पाण्डे र सुनिल थापा र रेशम लामा छन् ।

भ्रष्टाचार आरोपीलाई पुरस्कार

प्रधानमन्त्री देउवाले संक्रमणका कालकै फाइदा उठाउँदै मन्त्रिमण्डललाई ठूलो आकारको मात्रै बनाएनन्, भ्रष्टाचार आरोपमा मुछिएका दिपक बोहरालाई पनि मन्त्रीमा नियुक्त गर्न राजी भए ।

पार्टी अध्यक्ष राणाले राखेको पहिलो प्रस्तावमा बोहराको नाम अस्वीकार गरेका देउवाले केही दिनपछि भने सहज रुपमा बोहरालाई मन्त्रिमण्डलमा सहभागी गराएका छन् । तत्कालिन आपूर्ति मन्त्री बोहरा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा सहभागी भएर आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

निगम घोटाला आरोप लागेका सबैलाई निलम्बन गरेर छानविन गर्नुको सट्टा मन्त्री पदमा नियुक्त गरेर उल्टै ‘पुरस्कार’ दिने काम प्रधानमन्त्री देउवाले गरेका छन् ।

आयल निगमका हाकिमसहित तत्कालिन मन्त्री बोहराको बारेमा छानविन गर्ने निकाय पनि मौन बसेका छन् । करोडौंको घाटाला भएका खबरहरु छ्याछ्याप्ती हुँदा पनि अख्तियारले कुनै प्रतिक्रिया दिन सकेको छैन ।

यति हुँदा हुँदै पनि राणाले मन्त्रीका लागि बोहराको नाम सिफारिस गरे भने त्यसमाथि देउवाले लाज पचाएर राणाको प्रस्ताव सहर्ष स्वीकार गरे । पहिलो प्रस्तावमा बोहराको नाम अस्वीकार गर्ने देउवाले केही दिनपछि किन सहजै रुपमा बोहरालाई मन्त्रीमा स्वीकार गरे भन्ने कुरा पनि शंकास्पद छ ।

 

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्