विराटनगर महानगरको बजेट तीन अर्बभन्दा बढी


 


विराटनगर, भदौ २५

विराटनगर महानगरपालिकाले आज चालु आवका लागि तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ एक अर्ब ७४ करोड ८९ लाख २१ हजार, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना/क्षेत्रीय विकास परियोजनातर्फ एक अर्ब ६४ करोड गरी तीन अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित बजेट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ दीर्घकालीन सोचका साथ समानुपातिक विकासको अभियानलाई मूर्तरुप दिने उद्देश्यले बजेट तयार गरिएको बताउनुभयो ।

बजेटमा समानुपातिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाको रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक-एक सामुदायिक विद्यालय र मदरसासमेत गरी तीनवटा विद्यालयमा ५० लाखका दरले एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, ‘छोरी बचाउ अभियान’ अन्तर्गत पहिलो छोरी जन्माउने अभिभावकलाई तीन हजार, ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सामाजिक भत्तामा मासिक थप एक हजार दिने उल्लेख गरिएको छ ।

यसका साथै निर्माणमा सहजताका लागि आफ्नै स्वामित्वमा रोलर र ग्रेडर खरिद गर्न दुई करोड, नहरलाई बाइपासको रुपमा विकास गर्न एक करोड, बहुउद्देश्यीय पार्क निर्माण गर्न र वडा नं ३ को घोघापैनी निर्माण गर्न एक-एक करोड र स्लाब हाल्न १५ वटा वडालाई २०-२० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी, ऐतिहासिक विराट राजाको दरबार क्षेत्रका लागि रु ४० लाख र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घरपरिवारलाई व्यवस्थापन गर्ने लगायतका योजना सार्वजनिक गरिएको छ । रासस

प्रकाशित मिति: २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्