यसरी विवाह समाराेहमै गोली चल्यो, २० को मृत्यु


 


रासस/एएफपी

कुन्दुज, साउन ११

अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतबार आयोजित एक विवाह समारोहमा भएको गोली हानाहानमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उत्तरी अफगानिस्तानको देश सालेह जिल्लामा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विवाह समारोह चलि नै रहेका बेला सोही समारोहमा सहभागी व्यक्तिबीच नै गोली हानाहान सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आइतबार साँझ अबेरतिर सो घटना भएको बताइएको छ । उक्त दुर्घटना समारोहमा सहभागी भएका पाहुनाहरुबीच भएको हो ।

प्रहरीले उक्त दुर्घटनाको छानबीन सुरु भएको तर त्यहाँ सहभागी भएका पाहुनाबीचको विवादका कारण नै सो अवस्थाको सिर्जना भएको बताएको छ ।उक्त क्षेत्रमा विगतदेखि नै सुरक्षा स्थिति कमजोर रही आएको छ । यसअघि पनि सो जिल्लामा पटक÷पटक यस्ता हिंसाका घटना भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता जावेद बसरतले भने– उक्त दुर्घटनाबाट २० जनाको ज्यान गएको छ भने अरु १० जना नराम्ररी घाइते भएका छन् ।प्रहरीले सो स्थानमा स्थानीय रुपमा विवाद उत्पन्न भएको र आपसी रिसइबीका कारण उक्त दुर्घटना हुनपुगेको बताएको छ ।

मारिनेमा प्राय पुरुष पाहुना नै परेका छन् । मारिनेमा १४ देखि ६० वर्ष उमेरका व्यक्ति रहेका जानकारी दिइएको छ ।उक्त समारोहमा भोज जारी रहेको समयमा अकस्मात एक अधवैंशेले गोली चलाएको र त्यसको जवाफी फायरका रुपमा अर्कातर्फबाट पनि गोली हानिएको बताइएको छ । प्रहरीले घटनाका दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्