म्यानमारमा विद्रोही समूह रोहिंग्याद्वारा युद्धविराम घोषणा


 


काठमाडौं, भदौ २५
म्यानमारका रोहिंग्या मुस्लिम विद्रोहीले सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै एक महिनाका लागि एकतर्फी युद्धविराम घोषणा गरेको छ।


रोहिंग्या विद्रोहीको समूह अर्साले आज (आइतबार)देखि नैलागू हुनेगरि युद्धविराम घोषणा गरेको छ। अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको रखाइन प्रान्तमा सेनाले कारबाही चलाएको थियो । जसका कारण लाखौं रोहिन्ग्या घर छाडेर पलायन भएका छन् ।

पछिल्लो दुई हप्तामामात्रै रखाइन प्रान्तबाट झन्डै तीन लाख रोहिंग्या मुसलमान शरणका लागि बंगलादेश पुगेको दाबी गरिएको छ । बौद्ध सम्प्रदायको बाहुल्य रहेको म्यानमारमा सेनाले रखाइनमा रोहिंग्या मुसलमानको घर जलाएको आरोप पीडितले लगाएका छन् भने सरकारले उक्त आरोप झुटो भएको बरु विद्रोहीले नै अरुलाई देखाउन बस्तीमा आगो लगाएको दाबी गरेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघले द्वन्द्वका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो परेको जनाएको छ ।

बंगलादेशको कक्स बजारमा रहेका रोहिंग्या शरणार्थीका लागि खाद्यन्न, पानी तथा औषधि अत्यावश्यक रहेको र त्यसका लागि सहयोग गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।

 

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्