टेम्के मैयुङ गाउँपालिकाको निर्णय –’शिक्षक र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाऊ’


 


भोजपुर, भदौ २५
भोजपुरको टेम्के मैयुुङ गाउँपालिकाले शिक्षक र सरकारी कर्मचारीले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनु पर्ने निर्णय गरेको छ ।

सरकारी विद्यालयका शिक्षकले आफ्ना छोराछोरी नीजि विद्यालय पढाउने र सर्वसाधरणका छोराछोरीलाई लापरवाही ढंगले अध्ययन गराउने सर्वत्र गुनासो आएपछि यो निर्णय गरेको हो ।

कतिपय विद्यालयका शिक्षकहरु समयमा हाजिर नहुने, विद्यालयमा समयमा मदिरा सेवन गरेर आउने, खेतला शिक्षक पठाउने जस्ता क्रियाकलाप पाईएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धुर्बराज राईले जानकारी दिए ।

शिक्षकहरुको यस्तो कामलाई रोक्दै शिक्षामा गुणस्तर कायम गर्न यो निर्णयले मद्धत पुग्ने गाउँपालिकाको ठहर छ । सामाजिक विकास समितिका संयोजक पुर्णप्रसाद राई र गाँउ कार्यापालिका सम्पुर्ण पदाधिकारीहरुले उक्त निर्णय गरेका हुन् ।

शिक्षकहरुलाई जवाफदेही वनाएर पेशाप्रति वफादार, नैतिकवान चरित्रवान र उत्तरदायी वोध गराउन यस्तो निर्णय गर्नुपरेको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

जिल्लाका नौ ओटा स्थानीय तह मध्ये यस्तो निर्णय गर्न योे पहिलो गाउँपालिका हो । पछिल्लो समय भोजपुरमा सामुदायिक विद्यालयको गुणस्तर दिनहुँ खच्किँदो अवस्थामा छ ।

टेम्के मैयुङ गाउँपालिका भित्रकै खावा, नागी, अन्नपूर्ण, छिनामखु र तिम्माका सामुदायिक विद्यालयहरुको अवस्था खच्किदो रुपमा रहेको तंथ्याकहरुले देखाएका छन् । यो निर्णयबाट सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार हुने गाउँपालिकाबासीले आशा गरेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्