विराटनगर–काठमाडौं हवाई भाडा १७ सय !


 


काठमाडौं, भदौ २५
विराटनगरबाट–काठमाडौं यात्रा गर्ने यात्रुहरुलाई खुसीको खबर छ । अझ जहाज चढ्ने यात्रुहरुलाई बढी खुसीको खबर छ । किनभने विराटनगरबाट–काठमाडौं आउने जहाजको टिकट मात्र १७ सयमा पाउन थालिएको छ ।

यो टिकटको मूल्य बसको टिकटको मूल्य बराबर हो । विराटनगरबाट काठमाडौं आउने माइक्रोले १५ सय लिन्छन् भने झण्डै १० देखी १२ घण्टा यात्रा गर्नुपर्छ । त्यही मूल्यको हाराहारीमा ३० मिनेटदेखी ४५ मिनेटभित्र आरामदायी सिटमा जहाज चढेर काठमाडौं आउन पाईन्छ ।

दशैं नजिकिएसँगै विराटनगरबाट काठमाडौं आउने जहाजको टिकटको मूल्य अत्याधिक सस्तिएको हो । शुक्रबारबाट एक हप्ताका लागि भाडा सस्तिएको विमान कम्पनीहरुले जनाएका छन् । तर यो भाडा दशैंको टिकाको दिनसम्म कायम हुने स्रोत बताउँछ ।

विगत बर्षहरुमा पनि यसरी नै भाडा सस्तो हुने गरेको थियो । यतिबेला १७ सयमै टिकट काटिरहेका छौं, पिके ट्राभल्स मोरङका म्यानेजर नुतन राईले भने–अत्याधिक सस्तो टिकटले यात्रुहरुलाई सहुलियत भएको छ ।

सामान्यतया अरुबेला तीन हजारदेखी ७ हजारसम्म विराटनगर–काठमाडौं हवाई टिकटको मूल्य पर्छ । नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, यति एयरलाइन्स, सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले भाडा घटाएका हुन् ।

हवाई मार्गबाट काठमाडौं आउने यात्रुहरु कम भएपछि यति धेरै भाडा सस्तो भएको हो । जहाज खाली उड्नु भन्दा सस्तो टिकटको अफर ल्याएर विमान कम्पनीहरुले बसका यात्रुहरुलाई हवाई उडानमा आकर्षित गरिरहेका छन् ।

विराटनगर विमानस्थलबाट काठमाडौं दैनिक ६ सय बढी यात्रुले आउजाउ गर्ने भए पनि यतिबेला दुई सय पनि यात्रुहरु आवतजावतमा छैनन् ।

काठमाडौंबाट–विराटनगर जाने यात्रुको चाप भने उस्तै छ । दशैं नजिकिएसँगै यात्रुहरु काठमाडौं आउने भन्दा बाहिरिने दिनहुँ बढ्न थालेका छन् ।

प्रकाशित मिति: २५ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्