७७ हजारमा भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी !
गौशाला, भदौ २४
महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् ।
चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो इच्छा भएपछि ७७ हजारमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए ।
साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाट चुहिने गरेकोे अवस्थामा बसोबास गर्दै आएका अन्सारीले आफ्नो कुरा अरु नेताले नसुनिदिएपछि र आफूले भनेको काम कसैले नगराइदिएपछि आफूमा प्रमुख बन्ने चाहना पलाएको भनाइ छ ।
प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका मोतीका छिमेकीले उनको चुनावका लागि गाउँमा पाँच÷पाँच किलोका दरले चामल सहयोग दिएर कार्यकर्ताका लागि भोजभतेर पनि गरिरहेका छन् ।
मोतीले आफू ईश्वरको भरोसामा चुनाव लडेको र सबै मतदाताले आफूलाई मत दिने आश्वासन दिएकाले आफू जित्ने विश्वास ब्यक्त गरे ।
प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार