समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ, थियो यस्तो धन्दा


 


काठमाडौं, भदौ २४
अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो ।

नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे । तर, मार्कुसको उद्देश्य विशुद्ध समाजसेवा थिएन, सो गाउँका गरिब बालकहरूसँग अप्राकृतिक यौन गतिविधिमा रमाएर आनन्द लिने थियो । बिहीबार पक्राउ परेपछि मात्र मार्कुसको वास्तविकता उदांगो भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलको ठहिँटीस्थित होटेलबाट उनलाई पक्राउ गरी एक बालकलाई उद्धार गरेको छ ।

पेसाले इलेक्ट्रिसियन बताउने उनी पटक–पटक नेपाल आउने गरेको सिआइबीकी प्रवक्ता एसपी मीरा चौधरीले बताइन् । हालसम्म उनले दुई बालकमाथि यौनदुराचार गरेको पुष्टि भएको छ । ‘धेरै बालक उसबाट पीडित भएको हाम्रो अनुमान छ,’ एसपी चौधरी भन्छिन्, ‘उसलाई सहयोग गर्ने अन्य मान्छे पनि हुन सक्छ ।’ उनको थप पृष्ठभूमि थाहा पाउन प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । सन् २०१४ देखियता उनी चारपटक नेपाल आइसकेका छन् । मार्कुस पछिल्लोपटक २० अगस्टमा नेपाल आएका थिए ।

नेपालको कानुन कमजोर
कमजोर सजायका कारण नेपाल विश्वमै बाल यौनदुराचारीको ‘हब’ बन्दै गएको छ । गत वर्ष २५ भदौमा अमेरिकी नागरिक केनेथ जोसेफ कुम्बस र नेपाली एजेन्ट बुद्ध पुतवारलाई बाल यौनदुराचारको अभियोगमा सिआइबीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा संगठित रूपमै दुवैले नेपालमा बाल यौनदुराचारको धन्दा गर्ने गरेको खुलेको थियो ।

नेपालमा प्रहरीले बाल यौनदुराचार मुद्दामा जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलाउँछ । जसमा १३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । विदेशमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ । नेपालमा गरिब परिवारका बच्चालाई सहयोगको प्रलोभनमा सजिलै प्रभावमा पार्न सकिने ठानेर यौनदुराचारीहरू पर्यटकको आवरणमा आउने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

हाल जेलमा रहेका ४८ वर्षीय अमेरिकी नागरिक कुम्बस यसअघि पनि बाल यौनदुराचार मुद्दामा अमेरिकामा पक्राउ परी फरार भएका व्यक्ति हुन् । पेसाले उनी मोबाइल एप डिजाइनर हुन् । २१ वर्षीय नेपाली युवक पुतवार भने विदेशीलाई बालक उपलब्ध गराउने एजेन्ट हुन् ।

धेरै विदेशीले नेपाल आउँदा उनलाई नै फोन गरेर बालक मगाउने गरेको खुलेको थियो । पक्राउ परेका कुम्बसले पाँचजना बालकलाई ठमेलको एक होटेलमा बोलाएर यौन दुव्र्यवहार गरेको खुलेको थियो । पालैपालो बालकहरूलाई बोलाएर उनले यौन दुराचार गर्दै आएका थिए । त्यसबापत उनले बालक र एजेन्टलाई पैसा दिँदै आएका थिए ।

विश्वका धेरै देशमा बाल यौनदुराचार मुद्दामा कडा सजाय भए पनि नेपालमा कमजोर सजाय भएको यस्तो प्रवृत्तिका मान्छेहरू पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । नेपालमा पक्राउ परे पनि केही वर्षमै छुट्ने भएकाले विश्वका बालदुराचारीका लागि नेपाल ‘हब’ बन्दै गएको छ । बाल यौनदुराचार एक प्रकारको मानसिक रोग हो । यस्ता रोग भएका मानिस कलिला बालकस“ग यौनक्रीडामा रमाउने गर्दछन् ।

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्