राजपा विवाद घोषणापत्रमै देखियो, नेताहरुका भनाई यसरी बाँझिए
काठमाडौं, भदौ २३
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ। आजको अन्नपूर्णमा खबर छ ।
स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा ‘अन्य पार्टीबारे राजपाको दृष्टिकोण’ शीर्षकमा समेटिएका केही वाक्यांशप्रति घोषणापत्र सार्वजनिककर्ता नै जानकार नरहेको खुलेको छ। घोषणापत्रमा समेटिको विषयप्रति सञ्चारकर्मीले जिज्ञासा राखेपछि ‘गल्ती’ भएको शीर्ष नेताले स्विकारेका छन्।
अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण शीर्षकमा माओवादी केन्द्रलाई ‘लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने तथा राज्यसत्ता कब्जाको शैलीमा क्रियाशील’ भनी उल्लेख छ। उक्त विषयप्रति अध्यक्षमण्डलका केही नेताले आक्रोश व्यक्त गरेका छन्।
राजपाका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारीले सांकेतिक रूपमा विरोध जनाए भने अनिल झा र महेन्द्रप्रसाद यादवले पूर्ण असहमति जनाउँदै माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमा विश्वास राखेरै बुलेट छाडेर ब्यालेटमा आएको जिकिर गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मधेससँग ‘‘अफेयर्स’ भन्ने तर तपाईंहरूको घोषणापत्रले ‘कडा डिभोर्स’ जनाउँदै भनी राखेको जिज्ञासामा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भने, ‘माओवादीसँग न अफेयर्स, नत डिभोर्स’ नै भन्ने रेडिमेड जवाफ दिए। सञ्चारकर्मीले घोषणापत्रमा समेटिएको विषय वाचन गरेपछि महतो अक्क न बक्क भएका थिए।
पार्टीका केही उपाध्यक्ष, महामन्त्रीलगायत नेताले राजपा अध्यक्ष ठाकुरलाई कार्यकक्षमै पुगेर आफूले नपढेको घोषणापत्र सार्वजनिक गर्नुको कारण स्पष्ट गर्न माग गरेका थिए। उनीहरूले भनेका थिए, ‘राजपाभित्रका विविधखाले सोचका कारण अन्य पार्टीबारे राजपाको दृष्टिकोण गलत ढंगले बाहिर आयो। घोषणापत्र बनाउने जिम्मेवारी दिइएका महतोलाई पूर्ण विश्वास गर्दा यस्तो अवस्था आयो। घोषणापत्रमा समेटिएका विषयबारे जानकारी नराख्नु आपत्तिजनक हो।’
प्रकाशित मिति: २३ भाद्र २०७४, शुक्रबार