महानगरको महासंग्राम, वीरगन्जमा कस्ले मार्ला बाजी ?


 



वीरगञ्ज, भदौ २२
प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व गर्न सकिन्छ भन्नेमा शक्ति खर्चिरहेका छन् । आजको अन्नपूर्णमा खबर छ।

बुधबार कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले महानगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् ।

दललाई वीरगन्जका लागि उम्मेदवार छान्न सकस परेको थियो । सबै दलको चासो वीरगन्जका लागि प्रकट हुनुका पछाडि के कारण छ ? वीरगन्जका एक पुराना राजनीतिकर्मी हरेन्द्र सिंह भन्छन्, ‘यो सत्ता र शक्तिसँग गाँसिएको विषय हो । लामो समय वीरगन्जमा बसेर कांग्रेसको राजनीतिमा सक्रिय सिंह केही समययता मधेसी पार्टीमा आबद्ध भए पनि स्वतन्त्रपूर्वक विश्लेषण गर्न रुचाउँछन् । उनी भन्छन्, ‘यो आज मात्रै देखिएको होइन, ०४६ पछिका हरेक निर्वाचनमा दलहरूको केन्द्रीय नेतृत्वले वीरगन्जलाई चासोपूर्वक लिँदै आएको छ ।

वीरगन्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार वीरगन्जको नेता भएपछि केन्द्रमा स्थापित हुन सजिलो हुने भएकाले यहाँको नेतृत्व गर्न होड चल्ने गरेको हो । यादव भन्छन्, ‘राजनीतिमा पैसाको महत्व अत्यधिक हाबी भयो, आर्थिक नगरीसमेत रहेको वीरगन्जको नेतृत्वले त्यो सजिलै म्यानेज गर्न सक्छन् भन्ने स्थापित मात्रै होइन, व्यहवारमै देखियो, जसकारण सबैको चासो बढेको हो ।

‘वीरगन्जको महत्व यतिमा सीमित छैनु, अधिवक्ता यादव भन्छन्, ‘यो सहर दुई वर्षअगाडि मात्रै ६ महिना प्रभावित हुँदा हरेक नेपालीको चुलोमा प्रभाव पर्‍यो । यहाँ भारतको महावाणिज्य दूतावासदेखि भारतका अनेकन व्यापारिक संरचना छन् । राजनीतिज्ञ सिंह भन्छन्, ‘जसकारण यहाँका नेतालाई भारतसँग सम्बन्ध बनाउनसमेत सजिलो हुने गरेको देखियो । सिंह भन्छन्, ‘नेपालको राजनीतिमा भारतको प्रभाव अब बहसको विषय नै छैन, भारतसँगको सम्बन्ध हाम्रो राजनीतिमा महत्ववपूर्ण देखिन्छ । त्यसैले यहाँको राजनीतिक नेतृत्व गर्न सक्नेले भारतसँग समेत सम्बन्ध विस्तार गर्न मौका पाउँछन्, आर्थिक रूपमा पनि सहज उक्लिन्छन् ।’

‘वीरगन्जको छेउमै कलैया र सिमरा उपमहानगरपालिका छन्, यादव प्रश्न गर्दै भन्छन्, ‘खोइ त्यहाँ उम्मेदवार चयन गर्दा कुनै विवाद भएको देखिएन । तर वीरगन्जको सन्दर्भमा हेर्नुस्, के भयो । वीरगन्ज महानगरपालिकाको उम्मेदवार बन्न नपाएपछि मंगलबार मात्रै राजपा परित्याग गर्दै विमल श्रीवास्तव फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका छन् ।

बुधबार निर्वाचन कार्यालयमा उम्मेदवारी मनोयन गराउनेहरू दर्जन हाराहारीमा भए पनि वीरगन्जमा अजय द्विवेदी, विमल श्रीवास्तव, विजय सरागवी र राजेशमान सिंहबीचमै प्रतिस्पर्धी हुने जानकारहरूको दाबी छ । द्विवेदी कांग्रेसका वीरगन्ज मेयर उम्मेदवार हुन् । श्रीवास्तव राजपा परित्याग गर्दै फोरम लोकतान्त्रिकबाट, सरागवी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको तर्फबाट र सिंह राष्ट्रिय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् ।

एमालेले विवादमा मुछिएको नेसनल मेडिकल कलेज सञ्चालक बसरुद्दिन अन्सरीलाई मेयरमा अघि सारेको छ भने माओवादी केन्द्रले ३१ वर्षीय युवा रहबर अन्सारीलाई मेयरमा अघि सारेको छ ।

कांग्रेस पर्सा जिल्ला सभापति द्विवेदी पहिलो संविधानसभामा पर्साबाट निर्वाचित भएका थिए भने श्रीवास्तव वीरगन्जको पूर्वमेयर हुन् । श्रीवास्तव मेयर हुँदा वीरगन्जको विकास अत्यधिक भएकाले उनी वीरगन्जमा चर्चित छन् । तमलोपामा पुगेका उनी पार्टी महाधिवेशनलगत्तै पार्टी प्रवक्ता भएका थिए । राजपामा उनी महन्थ ठाकुरनिकट नेता मानिन्थे ।

वीरगन्जका नाम चलेका व्यापारी सरावगी वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् । राजपाका सिंह युवा भए पनि पछिल्लो मधेस आन्दोलनमा उनको भूमिका उल्लेखनीय रहेको स्थानीय नेता बताउँछन् । केही समयअघि मात्रै एमाले प्रवेश गरेका बसरुद्दिन विवादित छविका भए पनि मुस्लिम भोट तान्न सक्ने आकलन एमालेसहित स्थानीयको छ । माओवादी केन्द्रले भर्खरै विदेशबाट उच्च शिक्षा हासिल गरेर फर्केका युवा रहवरलाई छानेर वीरगन्जको युवा जमातमा आफ्नो आकर्षण बढाउन खोजेको देखिन्छ । रहबरले युवा जमातलाई बढी केन्द्रित गरी प्रचारप्रसार गरिरहेका छन् ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्