पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने


 


काठमाडौँ, भदौ २१

पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको मंगलबार यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिनुभयो ।

सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त शैक्षिक कार्यक्रमका लागि अर्काे व्यवस्था नहुञ्जेल तत्काल विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई प्रयोगात्मक रुपमा प्रयोग गर्न सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको प्रवक्ता झाले बताउनुभयो ।

सभामा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाञ्चल विश्वविद्यालय ‘पूर्वको गहना’का रुपमा रहेको बताउँदै यसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारका तर्फबाट सहयोग गर्न सकारात्मक रहेको बताउनुभएको थियो ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले विश्वविद्यालयले मुलुकको शैक्षिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक निकायका रुपमा विकास गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।

सभाले यस वर्षलाई विकास वर्षका रुपमा मनाई भौतिक पूर्वाधार निर्माणमा जोड दिने र सरकारसँग चालु आवका लागि रु ३० करोड थप अनुदानको लागि आग्रह गरेको छ ।

उपकुलपति प्रा डा घनश्यामलाल दासले विश्वविद्यालयको नीति तथा कार्यक्रमअनुसार यही आवभित्र आकस्मिक तथा बहिरंगलगायत सेवासहितको अस्पताल सुरु गर्ने लक्ष्य रहेको बताउनुभएको थियो ।

सभाले चालु आवका लागि आन्तरिक आम्दानी र सरकारबाट अनुदान गरी झन्डै रु ९६ करोडको बजेट पारित गरेको छ ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्