हिरासतमा थुनुवाको रहस्यमय मृत्यु, प्रहरी भन्छ–सडक छेउमा मृत अवस्थामा भेटाएका हौं


 


दाङ, भदौ २१
वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्र एक व्यक्तिको मृत्यु भएको रहस्य खुलेको छ । प्रहरी हिरासतभित्र थुनुवा व्यक्तिको मृत्यु भएको घटना प्रहरीले गुपचुप राखेर बेवारीसे अवस्थामा सडक छेउमा शब भेटिएको बताएपछि घटना रहस्यमय बनेको हो। आजको अन्नपूर्णमा खबर छ ।

वडा प्रहरी कार्यालय लमहीले आफ्नो हिरासतमा रहेका कुनै व्यक्तिको मृत्यु नभएको दावी गरेको छ । प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले प्रहरी कार्यालयको हिरासतभित्र कुनै व्यक्तिको मृत्यु नभएको दावी गरे ।

यता हिरासतमा लिएको व्यक्तिलाई स्वास्थ्य जाँचको लागि अस्पताल लगिएको बेला खिचिएको तस्विर सार्बजनिक भएको छ भने जिल्ला प्रहरी कार्यालय दाङले आफ्नो आधिकारीक फेसवुक पेजमा तिनै व्यक्तिको फोटो सहित घोराही उपमहानगरपालिकास्थित चौपट्टा जंगलमा मृत अवस्थामा फेला परेको भनी सुचना पोष्ट गरेको थियो ।

स्वास्थ्य जाँच गराउँदै गर्दाको तस्विर सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यालयले फेसवुकमा पोष्ट गरेको सुचना हटाएको छ, जस्ले गर्दा चौतर्फी आशंका उब्जाएको छ । घटनाक्रम सार्वजनिक भएपछि जिल्ला प्रहरी प्रमुख एसपी दुर्गासिंह चन्दले वडा प्रहरी प्रमुख खड्कालाई जिल्ला प्रहरी कार्यालय दाङमा बोलाएको बताएको छ ।

यस्तो छ घटना विवरण

प्रहरीले पक्राउ परेका व्यक्तिको स्वास्थ्य जाँचको लागि लमही अस्पतालमा भदौ १३ गते बेलुका लगेको थियो । अस्पतालमा ती व्यक्तिको जाँच भएको पाइएको छ । जाँच गरेपछी ती ब्यक्तिलाई प्रहरीले आफ्नो भ्यानमा राखेर प्रहरी कार्यालयमा लगेको थियो । रातभर प्रहरी हिरासतमा रहेका ती व्यक्तिलाई भदौ १४ गते बिहान लमही अस्पताल लगियो ।

अस्पतालमा जाँच गर्दा ती व्यक्ति मृत थिए । मुटुको धड्कन जाँच गर्न ईसीजीको लागि फलोरेन्स अस्पताल लगिएको थियो । मृत्यु पुष्टि भएपछी लमही अस्पतालको शव गृहमा राखियो । प्रहरीले शवलाई एम्वुलेन्समा राखेर घोराही उपक्षेत्रीय अस्पताल पुर्‍यायो ।

वडा प्रहरी कार्यालय घोराहीबाट भदौ १६ गते नाम, ब्यहोरा नखुलेको भन्दै शव घोराही उपमहानगरपालिका वातावरण शाखाको जिम्मा लगाएको थियो । त्यो शव उपमहानगरपालिकाको रोहवरमा गाडी सकिएको छ ।

लमही अस्पतालमा मेडिकल जाँचको क्रममा ती व्यक्तिले आफ्नो नाम युवराज खड्का, वर्ष ४० को लेखाएका थिए । उनले आफ्नो ठेगाना घोराही उपमहानगरपालिका वडा नं। १४ निवासी भनेर उल्लेख गरेका छन् । मापसे जाँच गर्न प्रहरीले ती व्यक्तिलाई लमही अस्पताल लगेको थियो ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्