राजपा वीरगन्जमा सल्कियो असन्तुष्टिको आगो, गुरु-चेला भिडन्त


 


सर्लाही, भदौ २१
सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो। तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो। चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक गर्दा उनको नाम परेन, सिंह मेयरका उम्मेदवार तोकिए। आजको अन्नपूर्णमा खबर छ।

काठमाडौंमा मंगलबार दिउँसो उम्मेदवारको अन्तिम नामावली घोषणा गरेपछि मधेसका कार्यकर्ताबीच व्यापक असन्तुष्टि देखिएको छ। श्रीवास्तवले त पार्टी परित्याग घोषणा गर्दै विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

राजपा अध्यक्ष मण्डलको बैठकमा शरतसिंह भण्डारीले सिंहको पक्षमा उभिँदै अडान नछाडेपछि श्रीवास्तवको नाम काटिएको थियो। श्रीवास्तवले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘शरतजीले अन्यत्र कतै दाबी नगर्ने तर वीरगन्जमा आफूले भनेको मान्छेलाई उम्मेदवार बनाउन अडान राखेपछि तपाईंलाई गर्न सकिनँ भन्नुभयो।’

वीरगन्जमा सल्किएको असन्तुष्टिले दुई नम्बर प्रदेशलाई नै गाँज्ने संकेत देखिएको छ। उसै पनि विवादमा फसेको राजपामा चुनावको मुखैमा भाँडभैलो मच्चिएको छ। सर्लाहीमा उम्मेदवारको नामावली सार्वजनिक भएलगत्तै पार्टीका महासचिव जंगीलाल राय यादवले महासचिव पदबाट राजीनामा दिएका छन्।

६ वटा मधेसी पार्टी मिलेर एक बनेको राजपा नेपाल मधेसको बलियो शक्तिका रूपमा उदय हुने आकलन भइरहँदा चुनावको मुखैमा झन् कमजोर देखिन थालेको छ। अध्यक्ष मण्डलका एक नेताले पार्टी क्षयीकरणतर्फ उन्मुख भएको बताए।

गुरु-चेला भिडन्त

श्रीवास्तवले राजपामा पैसाको चलखेल भएकाले आफ्नो नाम काटिएको दाबी गरेका छन्। ‘यो मधेसी जनताको भावनाविपरीत टिकट बिक्री गर्ने काम भयो’, उनले भने, ‘त्यसैले पार्टी परित्याग गरेको हुँ।’ श्रीवास्तवसँगै राजपाका केन्द्रीय सदस्य शशिकपुर मिया, पुरुषोत्तमलाल झा, लक्ष्मीकान्त तिवारी, किशोरी यादवले पनि राजपाबाट राजीनामा दिएका छन्।

राजनीतिक यात्रामा गुरु र चेला भनेर चिनिएका श्रीवास्तव र सिंह ०७० सालको संविधानसभा निर्वाचनमा पनि एउटै क्षेत्र पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए। त्यसबेला श्रीवास्तव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट र सिंह तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीबाट मैदानमा थिए।

कांग्रेसका उम्मेदवार राजेन्द्रबहादुर अमात्य निर्वाचित भएको उक्त निर्वाचनमा श्रीवास्तव दोस्रो स्थानमा र सिंह तेस्रो स्थानमा सीमित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनअघि राप्रपामा रहेका श्रीवास्तवको राजनीतिक सहयोगीका रूपमा सिंह परिचित थिए। सिंह ०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको वडा ३ बाट नगर परिषद् सदस्य निर्वाचित भएका थिए।

०५४ सालमा श्रीवास्तवले नेतृत्व गरेको स्वतन्त्र समूहमा रहेका सिंह श्रीवास्तवका नजिकका मानिन्थे। अब असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा फेरि एउटै पदमा यी दुई गुरु र चेलाबीचको भिडन्त हुनेछ। यसले वीरगन्जको चुनावलाई थप रोमाञ्चक बनाएको छ।श्रीवास्तवले भने, ‘राजपाले वीरगन्जमा गरेको निर्णय मधेसी जनताको भावनाविपरीत छ। आर्थिक चलखेल गरेर वीरगन्ज मेयरको टिकट बिक्री भएको छ।’

उनको राजीनामाको कारण पनि उम्मेदवार चयन नै रहेको छ। सर्लाहीमा उम्मेदवार छनोटमा महेन्द्र यादव र राजेन्द्र महतो हाबी भएपछि उनी असन्तुष्ट भएर राजीनामा दिएका छन्। ‘महतो र यादवले मनोमानी टिकट वितरण गरे। हैसियत नभएको नेतालाई उम्मेदवार बनाउने मात्रै होइन, परिवारवाद, जातिवाद हाबी भएको छ’, उनले अन्नपूर्णसँग भने, ‘अब म कांग्रेसमा प्रवेश गर्छु। साथीहरूसँग थप सल्लाह गर्दै छु।’ उनी सर्लाहीबाट निर्वाचित सांसद हुन्।

उता, महोत्तरीमा राजपाका जिल्ला अध्यक्ष मण्डल सदस्य नरेन्द्र यादवले पनि उम्मेदवारीकै विषयमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेश गरेका छन्।‘पार्टीमा भाँडभैलो मच्चिएको छ। एकीकरणपछि पहिलो पटक चुनावमा जाँदै गर्दा यो राम्रो संकेत होइन’, उनले भने, ‘देखिएका समस्या मिलाउने प्रयत्न हुँदै छ।

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्