सर्वोत्कृष्ट कर्मचारी भेटिएन, दुई लाखको पुरस्कार कसैले नपाउने


 


काठमाडौं, भदौ २०
देशमा भएका ८३ हजार निजामती कर्मचारीमध्ये यस वर्ष एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला पर्न सकेनन् ।

एक जना पनि सर्बोत्कृष्ट कर्मचारी फेला नपरेपछि निजामती सेवा दिवसका अवसरमा दिने दुई लाख रुपैयाँको ‘सर्बोत्कृष्ट कर्मचारी पुरस्कार’ कसैले पनि नपाउने भएका छन् । सरकारले बर्सेनि भदौ २२ मा यो दिवस मनाउँदै आएको छ ।

सरकारले निजामती सेवा दिवसमा तीन तहका पुरस्कार वितरण गर्छ। २ लाख रुपैयाँको सर्वोत्कृष्ट निजामती पुरस्कार एक जनालाई, १ लाख रुपैयाँको उत्कृष्ट निजामती पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार ३० जनालाई दिइन्छ।

निजामती सेवा ऐनअनुसार सर्वोत्कृष्ट पुरस्कारका लागि निजामती सेवामा स्थायी भएर १५ वर्ष काम गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको हुनुपर्छ। गत वर्ष भने सर्वोत्कृष्ट पुरस्कार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले पाएका थिए।

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्