तालमेलका लागि कांग्रेस–माओबादीबीच गृहकार्य


 



काठमाडौं, भदौ १९
स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते हुने निर्वाचनका लागि कांग्रेस र माओबादी केन्द्रले तालमेलका लागि बार्ता सुरु गरेका छन् । यी दुबई दलले एमालेको पकड क्षेत्र रहेका करिब १० वटा क्षेत्रमा तालमेल गर्ने गृहकार्य सुरु गरेका हुन् ।

दुबै दलले केन्द्र भन्दा पनि स्थानीयस्तरमा पार्टीको प्रभावलाई हेरेर तालमेल गर्ने तयारी गरेका छन् । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्ने अधिकार स्थानीय स्तरमै प्रदान गरेको बताए। उनकाअनुसार स्थानीयस्तरमै दलहरुबीच तालमेलको सहमती हुनेछ । जसलाई केन्द्रले समर्थन गर्नेछ ।

माओवादी केन्द्रका प्रदेश २ संयोजक विश्वनाथ साहले तालमेलबारे वार्ता चलिरहेको जानकारी दिए । यद्यपि दुई दलहरुबीच कुन–कुन स्थानमा तालमेल गर्ने हो भन्ने अन्तिम टुंगो भने लगाइएको छैन ।

कांग्रेसले आइतबारसम्म १ सय १६ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । बैठकमा सहमति भएका स्थानमा समेत पार्टी संस्थापन पक्षले निर्णय परिवर्तन गरी आफ्ना निकटलाई उम्मेदवार बनाएको भन्दै महामन्त्री कोइरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरू रुष्ट बनेका छन् ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्