टिचिङको शौचालयमा पनि यसरी ठगिन्छन् बिरामी


 



काठमाडौं, भदौ १९
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ । अस्पतालमा दैनिक १५ सय हाराहारीमा बिरामी जाने गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

भिडभाड हुने स्थान (अस्पतालको उत्तर र दक्षिण) मा रहेका शौचालय बिरामीका लागि पासो बनेको चिकित्सकहरू नै बताउँछन् । अस्पतालका युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले सरकारी अस्पतालमा बिरामीले पिसाब र दिसा गरेको आधारमा रकम उठाउनु गैरजिम्मेवारीपन भएको बताए । ‘२० रुपैयाँको टिकट काट्न नसक्ने बिरामी पनि उपचारमा आउँछन् । उनीहरू पिसाबको ५ र दिसाको १० रुपैयाँ तिर्न बाध्य हुन्छन्,’ उनले भने । शौच गरेवापत बिरामीसँग पैसा उठाउने काम सरकारीमध्ये शिक्षण अस्पतालमा मात्रै भएको उनले बताए ।

अस्पतालले दुई कर्मचारीलाई प्रतिव्यक्ति मासिक आठ हजार तलब दिएर शौच गरेबापत पैसा उठाउन खटाएको छ । पिसाब गरेको १ र दिसा गरेको २ रुपैयाँ भनेर बाहिर देखिने गरी टाँसिएको छ । तर, पैसा उठाउनेले पिसाब गरेको ५ र दिसा गरेको १० रुपैयाँ उठाउँछन् । रकम संकलन गर्न बसेका ध्रुव नेपालले माथिको आदेशअनुसार रकम संकलन गरेको बताए ।

‘रकम संकलन गरेबापत मासिक ८ हजार तलब पाउँछु,’ उनले भने, ‘बिरामी र आफन्तले धेरै गुनासो गर्छन् । आफ्नो जिम्मेवारी हो, पूरा गर्नैपर्छ ।’ उनले एउटै बिरामी दिनमा चारपटकसम्म पिसाब फेर्न आउने गरेको बताए । ‘सुरुमा पिसाब फेरेको एक रुपैयाँ र दिसा गरेको दुई रुपैयाँ भनेर देख्ने गरी शौचालयमा टाँसेको थिएँ । पछि अस्पतालबाट मलाई स्पष्टीकरण सोधियो । त्यसैले अहिले ५ रुपैयाँ र १० रुपैयाँ लिन थालेको हुँ,’ उनले भने ।

शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसका स्ववियु सभापति मिलन गैरेले पटक–पटक ठगी रोक्ने प्रयास गरे पनि असफल भएको बताए । ‘हामीले प्रशासनसमक्ष शौचालयबाट हुने ठगीलाई रोक्न भनेका थियौँ,’ उनले भने, ‘तर, सुनुवाइ भएन । प्रा।डा। गोविन्द केसीले स्वास्थ्य सेवा सुधारको कुरा उठाउँदै आउनुभयो । तर, उहाँकै रुमअगाडि यसरी बिरामी ठगिएको विषयमा सबै मौन बसे । यसले बिरामी र आफन्तलाई ठूलो समस्या थपेको छ ।’

शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा।डा। दीपकप्रकाश महराले शौचालयमा भएको ठगी रोक्न निर्देशन दिए पनि नरोकिएको बताए । उनले भने, ‘पटक–पटक हामीले बिरामी र आफन्तसँग रकम नउठाउन भनेका छौँ । उनीहरूले लिँदैनौँ भन्ने, तर लिने गरेको देखियो । यसलाई रोक्न तत्काल पहलकदमी लिनेछु ।’ शौच गरेकै आधारमा गरिब बिरामी ठगिन नहुने उनले बताए । यस्तो ठगीबारे प्रशासनमा खबर गरेर सहयोग गर्न उनले आग्रह गरे ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्