थप तीन जिल्लामा निःशुल्क इन्टरनेट, कुन-कुन जिल्लामा जडान हुँदैछ ?
काठमाडौँ, भदौ १८
ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को रकम उपयोग गरेर नेपाल दूरसञ्चार प्राधिकरणले छ नम्बर प्रदेशका तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने भएको छ । प्राधिकरणले सुर्खेत, दैलेख र सल्यान जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार तथा इन्टरनेट पुर्याउन सेवा प्रदायकसँग आवेदन माग गरेको छ । आजको गोरखापत्रमा खबर छ ।
प्राधिकरणका अनुसार छनोट हुने सेवा प्रदायकले यी तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेटका लागि आवश्यक नेटवर्क विस्तार गर्नुपर्नेछ । नेटवर्कसँगै ती जिल्लाका सार्वजनिक स्थान, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, गाउँपालिका तथा नगरपालिका कार्यालयमा इन्टरनेटसमेत सोही सेवा प्रदायकले नै पुर्याउनुपर्नेछ ।
छनोट भएको एक वर्षभित्रै यो काम सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा प्रदायकले त्यसपछि दुई वर्षसम्मका लागि तोकिएका स्थानमा निःशुल्क इन्टरनेट पनि उपलब्ध गराउनुपर्नेछ । सेवा प्रदायकले असोज २९ गतेभित्र प्राधिकरणमा आवेदन पेस गर्नुपर्नेछ ।
प्राधिकरणले यसअघि पनि देशका दुई दर्जन बढी जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार र इन्टरनेट पुर्याउने प्रक्रिया अघि बढाइसकेको छ । देशैभर ब्रोडब्यान्ड (५१२ केबीपीएस गति) इन्टरनेट पुर्याउने सरकारी योजना अनुसार प्राधिकरणले इन्टरनेट विस्तार प्रक्रियालाई अघि बढाएको हो ।
प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार