राज्यमन्त्रीको बास स्कुलमा ! सुरक्षा पोस्ट स्कुल हाताभित्र


 


काठमाडौं, भदौ १८

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री राख्न सरकारीनिवास अपुग भएपछि एकजना राज्यमन्त्री हातहतियारसहितको सुरक्षा गस्तीसहित विद्यालय हातामा बस्दै आएका छन्।

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल (टीएल) चौधरी ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित नाइटिंगेल स्कुलभित्र सुरक्षा पोस्टसहित बसेका छन्। सरकारले शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरे पनि राज्यमन्त्री चौधरी १२ दिनदेखि स्कुलभित्रै नेपाली सेनाको सुरक्षा पोस्टसहित बसिरहेका छन्। आजको राजधानीमा खबर छ ।

विद्यालय हाताभित्र हातहतियारसहित सुरक्षाकर्मी बस्न नपाउने, बन्द, हडताल वा र्यालीमा विद्यार्थी प्रयोग गर्न नपाइनेलगायत नीति छ। तर मन्त्री चौधरी भने डेरा नपाएको भन्दै आफ्नै विद्यालयमा बस्दै आएका छन्। राज्यमन्त्रीको शपथग्रहणलगत्तै सरकारले उपलब्ध गराएको सुरक्षा टोलीसहित उनी विद्यालयको को ‘सी’ ब्लकको माथिल्लो तल्लामा बस्दै आएका छन्।

उनको सुरक्षाका लागि सरकारले उपलब्ध गराएको हातहतियारसहितको नेपाली सेनाको सुरक्षाकर्मी (सेन्ट्री) सो स्कुलको कम्पाउन्डभित्र बस्ने गरेको छ। सरकारले उनलाई उपलब्ध गराएको सवारीसाधन पनि विद्यालय हातामै हुन्छ। राज्यमन्त्री बनेपछि पनि उनी अहिलेसम्म आफ्नै घर र स्वामित्वमा रहेको २५ वर्ष पुरानो नाइटिंगेल स्कुलमा बस्दै आएका छन्। राज्यमन्त्री चौधरी बसेको भवनमुनिका तलामा ४, ५ र ६ कक्षाका ५ सय विद्यार्थी अध्यनरत छन्। अर्को तलामा विद्यालयको होस्टेल छ। विद्यालयले सञ्चालन गरेको कलेज ब्लक ‘बी’ मा छ। जहाँ ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन्।

सप्तरी जिल्लाका चौधरीले २०४९ सालदेखि कुपण्डोलमा नाइटिंगेल स्कुल चलाउँदै आएका छन्। स्कुलतर्फ करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् भने नर्सिङ कलेज र १० जोड २ तर्फ करिब १ हजार विद्यार्थी रहेको राज्यमन्त्री चौधरीका सहयोगी ध्रुव तण्डुकारले बताए। राज्यमन्त्री नहुँदै नाइटिंगेल स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल छँदादेखि उनी सोही घरमा बस्दै आएको कुपण्डोलका स्थानीय बताउँछन्। आफैं विद्यालय र कलेज सञ्चालन गर्ने, आफैं हातहतियारसहित सुरक्षाकर्मीका साथ विद्यालय भवनमै बस्नु गलत र निन्दनीय कुरा भएको शिक्षाविद्हरू बताउँछन्।

‘टोलवासीको पनि आग्रह थियो, राज्यमन्त्रीले हातहतियारसहितको सुरक्षाकर्मी राखेर कलेज भवनमै बस्न हुँदैन,’ ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले भने, ‘राज्यमन्त्री हुन्जेल अन्यत्रै बसाइँ सर्न हामीले उहाँलाई भेटेर सुझाव दिइसकेका छौं।’

राज्यमन्त्री बस्नका लागि उपयुक्त डेरा नपाएका कारण विद्यालय हातामै बस्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष तण्डुकारको भनाइ छ। ‘उहाँले विद्यार्थीको संवेदनशीलता बुझ्नुभएको छ, तर बिडम्वना डेरा नपाएकाले उहाँ यहाँबाट जान नसक्नुभएको हामीले बुझेका छौं,’ तण्डुकारले भने। विद्यालयमा बस्नुपरेको भन्दै राज्यमन्त्री चौधरीले आफूलाई घरमा उपलब्ध गराइएका सुरक्षाकर्मीलाई हतियाररहित बनाइदिन गृह मन्त्रालयमा पत्राचार गरेको विद्यालयकी प्रिन्सिपल रञ्जना प्रधानले राजधानीलाई बताइन्।

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्