वीरगन्ज महानगरमा कांग्रेसबाट ८८ वर्षीया बृद्धा उपमेयरको उम्मेदवार !


 


बीरगञ्ज, भदौ १८
कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवारको पनि टुंगो लगाएको छ । उपमेयरमा महाधिवेशन प्रतिनिधि ८८ वर्षीया शान्ति कार्कीलाई उम्मेदवार बनाउने भएको छ । मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समितिको बैठकले वीरगन्जको उपमेयरमा नेतृ शान्ति कार्कीलाई उठाउने निर्णय गरेको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश रिजाल र जिल्ला सभापति तथा मेयर उम्मेदवार अजय द्विवेदीबीच उपमेयर उम्मेदवार छनौटमा विवाद हुँदै आएको थियो । कार्कीले विभिन्न आन्दोलनका क्रममा जेलसमेत बसेको र पार्टीमा धेरै योगदान दिएको पर्सा कांग्रेसले जनाएको छ ।

उपमेयरमा केन्द्रीय सदस्य रिजालले पत्रकार एवं प्रेस युनियनका संस्थापक सदस्य कन्हैयालाल केशरीकी छोरी प्रियंका केशरीको नाम प्रस्ताव गरेका थिए । तर, एक नेताका अनुसार केशरीको नाम उपमेयरका लागि जिल्लाबाट सिफारिस नै भएको थिएन ।

मेयर र उपमेयरको टुंगो लागेसँगै वीरगन्ज महानगरमा कांग्रेसले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएको छ । केन्द्रीय सदस्य शेखर कोइराला, मेयरका उम्मेदवार द्विवेदी र उपमेयरका उम्मेदवार कार्कीसँगै स्थानीय नेता कार्यकर्ताले चुनावी घरदैलो सुरु गरेका छन् । कांग्रेसले शुक्रबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गरेको घरदैलो कार्यक्रम गरेको छ ।

 

प्रकाशित मिति: १८ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्