डेरामा बन्दुक लुकाएर राख्दा…


 


सोलुखुम्बु, भदौ १७

भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ ।
अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस्ने पासाङले बन्दुक लुकाएर राखेको जानकारी पाएपछि प्रहरीले यही भदौ ५ गते बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद बरामद गरेको थियो । अभियुक्त बसेकै ठाउँबाट बन्दुक बरामद भए पनि अभियुक्त फरार रहेकामा यही भदौ १५ गते उनलाई घरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

हातहतियार बुझाउन प्रहरीले सार्वजनिक सूचना प्रसारण गरे पनि उनले हतियार नबुझाएको पाइएको हो । हतियार भएर पनि नबुझाउनेलाई कडा निगरानीमा राखेर खोजतलास भइरहेको बताइएको छ । रासस

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्