नेपाल विद्युत् प्राधिकरणमा ‘१३ पाने’ आतंक, कुलमानलाई असक्षम पार्ने खेल


 



काठमाडौं, भदौ १७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका चारजना उच्च अधिकृतलाई व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न लगाएपछि आतंक मच्चिएको छ ।

अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले प्राधिकरणका उपमहाप्रबन्धकहरू राजीव शर्मा र हरराज न्यौपाने तथा प्रबन्धक एवं प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी र क्षेत्रीय प्रबन्धक राजन ढकाललाई १३ पाने फारम भराउन लगाएको हो । अाजको नयाँ पत्रिकामा खबर छ ।

उनीहरूले आयोगले थमाएको १३ पाने फारम भरिसकेका छन् । तर, यही कारण प्राधिकरणको नियमित कामकारबाहीमा असर देखिन थालेको छ । अख्तियारले विवरण फाराम भर्न लगाएका उनीहरू लोडसेडिङ हटाउन सफल कुलमान घिसिङका दाहिने हातजस्तै रहेका थिए ।

हरराज न्यौपाने निर्माणाधीन जलविद्युत् आयोजनाहरूको नियमन गर्ने उत्पादन निर्देशनालयका प्रमुख हुन् । त्यस्तै, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजीव शर्मा पनि कुलमानको कोर टिमका सदस्य हुन् । उनको नेतृत्वमा प्रसारण लाइनको निर्माण, सञ्चालन तथा सम्भार गर्ने कार्य भइरहेको छ ।

प्रवल अधिकारी प्राधिकरणका प्रवक्ता तथा विद्युत् व्यापार विभागका प्रबन्धक हुन् । निजी कम्पनीले उत्पादन गरेको बिजुली प्राधिकरणले खरिद गर्नका लागि ‘पावर पर्चेज एग्रिमेन्ट’ उनैले गर्ने गरेका छन् । अधिकारीले कुलमानलाई अन्तिम निर्णय प्रक्रियामा सघाउँदै आएका थिए ।

पूर्वाञ्चलको कोसी करिडोर इन्चार्ज रहेका राजन ढकाल क्षेत्रीय प्रबन्धक हुन् । बाढीले क्षतिग्रस्त पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा बसेर झापा, मोरङ तथा सुनसरीमा विद्युत् प्रसारण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनामा उनको मुख्य भूमिका रहेको छ । तर, १३ पाने भर्न लगाइएपछि उनीहरू चारैजना नियमित काममा आउन छाडेका छन् । उनीहरू नियमित काममा नआएको र आए पनि कसैको सम्पर्कमा नरहेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले भने उनीहरू बिदामा बसेको कुरा आफूलाई थाहा नभएको बताए । ‘म अख्तियारको प्रवक्ता हुँ, तर सबै कुरा मसँग सम्बन्धित भएर काम–कारबाही अगाडि नबढ्ने भएका कारण यो कुरामा अनभिज्ञ छु,’ उनले भने । कोइरालाले निवेदनका आधारमा कुनै अधिकारीले यो विषयमा अनुसन्धान गरेको हुन सक्ने, तर आफूलाई भने कुनै जानकारी नभएको बताए । जसका कारण उनीहरूसँग सम्बन्धित कार्यालय र विभागहरूले चुस्त रूपमा काम गर्न सकिरहेका छैनन् ।

प्राधिकरणको उपत्यकामा स्मार्ट मिटर तथा नयाँ ट्रान्समिसन लाइनको टेन्डरको प्रक्रिया अन्तिम चरणमा रहे पनि त्यो काम रोकिएको छ । त्यस्तै, निजी क्षेत्रले प्रवद्र्धन गरेका विभिन्न आयोजनासँग पिपिए गर्नसमेत ढिलाइ भइरहेको छ ।

घिसिङका निकटतम सहयोगीको सम्पत्ति छानबिन गर्ने बाहनामा आयोगमा उजुरी परेपछि काम गर्ने मनोबल गिरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘निश्चय पनि एउटा स्पिरिटमा काम गरिरहेको अवस्थामा एक्कासि अरूको उक्साहटमा आयोगमा निवदेन दिएको थाहा भएको छ,’ उनले भने, ‘यो सरासर नेपालमा लोडसेडिङ निम्त्याएर कुलमान र प्राधिकरणलाई असक्षम पार्ने खेल हो ।’

अख्तियारको पछिल्लो कदमले घिसिङले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध हुन थालेको छ । यसअघि विद्युत्को किफायती प्रयोग गर्नका लागि भारतबाट एलइडी बल्ब खरिद विवादमा परेपछि रोकिएको थियो । त्यस्तै, विश्व बैंकको सहयोगमा नुवाकोटमा स्थापना हुन लागेको २५ मेगावाटको सोलार ग्रिड प्रसारण लाइनको काम सुरु भएपछि रोकिएको छ । टेन्डर प्रक्रियामा ठेकेदार कम्पनी छान्दा धेरै कबुल गरेको कम्पनीलाई कामको ठेक्का दिएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले सोलार ग्रिडलाई पुनः टेन्डर गर्न निर्देशन दिएको थियो ।

कसले हाल्यो अख्तियारमा उजुरी ?
अख्तियारका एक उच्च अधिकारीका अनुसार प्राधिकरणका ४ जनालाई १३ पाने भराउनका लागि मुकेश काफ्ले र मनोज मिश्र हात धोएर लागिपरेका छन् । उनीहरूले एक महिनाअघि सहयोगीमार्फत अख्तियारमा १३ पानेका लागि निवेदन दिन लगाएका थिए ।

गत पुस महिनामा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाउनका लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको भन्दै तीनजना सञ्चालकलाई बर्खास्त गरेका थिए । प्राधिकरणका तत्कालीन सञ्चालक समितिका सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै शर्माले बर्खास्त गरेका थिए । मिश्र तिनैमध्येका एक हुन् । त्यस्तै, लोडसेडिङको व्यवस्थापन गर्न नसकेको भन्दै तत्कालीन पुष्पकमल दाहाल सरकारले प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेलाई पनि हटाएको थियो ।

पहिलो चरणमा चारजनालाई १३ पाने भर्न लगाएका उनीहरू दोस्रो चरणमा कुलमानलगायत अन्य बाँकी उपकार्यकारी निर्देशक र केही तल्ला तहका कर्मचारीविरुद्ध अख्तियारमा निवेदन दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्