नेशनललाई ‘प्रमुख दलकै निर्देशन’मा सम्बन्धन दिएको खुलासा


 



काठमडौं, भदाै १७
प्रमुख दलका शीर्ष नेताहरूको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ ।

विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्येका त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख दलका नेताले सम्बन्धन दिन आफूहरूलाई निर्देशन दिएको खुलासा गरेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

‘हामीलाई प्रमुख दलका मुख्य नेताहरूले (सम्बन्धन) दिनुपर्छ भन्नुभएको हो । त्यसमा एमालेका नेताहरू पनि छन्, कांग्रेस÷माओवादीका पनि छन्,’ त्रिभुवन विश्वविद्यालयका कार्यकारी परिषदका एक सदस्यले कान्तिपुरसित भने, ‘हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं, उहाँहरूले नै (निर्णय भए पनि) अहिले बाहिर नल्याउनुहोस् भन्नुभयो । तर, तीन सातापछि उहाँहरूले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।’

डा. गोविन्द केसीको अनशन जारी रहेकाले कार्यकारी परिषदको निर्णय गोप्य राख्नुपरेको भन्दै ती सदस्यले राजनीतिक दलका नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाए । आफ्नो परिचय र अडियो सार्वजनिक नगर्ने सर्तमा ती सदस्यले भने, ‘सम्बन्धन पाउनुपर्छ भन्ने नेताहरू नै थिए । उनीहरूले बाहिर त्यो विषयमा बोलेका छैनन् । निर्णयको विषय सत्तारूढ दल र प्रमुख विपक्षी नेताहरूको नोटिसमै थियो । दुवै थरीले थाहा छैन भन्न मिल्दैन ।’

 

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्