सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी


 



काठमाडौं, भदौ १६
प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन । पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा विमानस्थलका प्रहरी अधिकारी तथा भन्सार अधिकृतहरूको मिलेमतो खुलेको थियो । करिब दुई किलो अवैध सुनसहित पक्राउ परेका सशस्त्र प्रहरीका सइ सञ्जीव मानन्धरसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान भएका छन् ।

गत १६ साउनमा प्रहरीले विमानस्थलबाटै दुई किलो सुनसहित सइ मानन्धर, लेखबहादुर रजाली र पार्वती गुरुङलाई पक्राउ परेको थियो । रजालीले विदेशबाट ल्याएको सुन सइ मानन्धरले एयरपोर्टबाट पास गराउन खोज्ने क्रममा उनीहरू पक्राउ परेका थिए । थप अनुसन्धानका लागि तीनैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको भन्सार कार्यालय विमानस्थलका प्रमुख नारायण सापकोटाले बताए । सइ मानन्धरले पटक–पटक विमानस्थलबाट सुन पास गराउने सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरी पक्राउ गरेको थियो ।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । प्रहरी अनुसन्धानअनुसार सो सुन पास गराउने जिम्मा सइ मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय गएकोमा प्रहरीलाई देखेपछि हच्किएका थिए । पछि पक्राउ परेका रजालीले उनीमार्फत नै आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

रजाली र सइ मानन्धरबीच पटक–पटक फोनमा कुरा भएको थियो । सशस्त्रका सइले पटक–पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन् । उनी पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए । सुन तस्करीकै लागि उनी त्यसरी पटक–पटक विदेश जाने गरेको प्रहरी आशंका छ । उनले सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बयान दिएका छन् । बयानका क्रममा सइ मानन्धरले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि उनको संलग्नताको थप प्रमाण खोज्ने काम भइरहेको भन्सार प्रमुख सापकोटाले बताए । मानन्धर १० वर्षदेखि विमानस्थलमै कार्यरत थिए ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्