जहाँ बिरामीको किनबेच हुन्छ, एक विरामीको मूल्य पाँचसय देखि १५ सयसम्म


 



काठमाडौं, भदौ १५
पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ ।

यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरेका छन् । अञ्चल अस्पताल अगाडी लहरै हरदम आधा दर्जन भन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्स आदिलाई एउटा विरामी ल्याएबापत निजी अस्पतालले रकम दिने गरेका छन् । अाजको कान्तिपुरमा खबर छ ।

अस्पतालमा आएका विरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताललाई एकजना विरामी लगिदिए वापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन् । अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय पनि जानकार छन् । ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेन्ट नै सरकारी अस्पतालमा खटाउने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘पूर्वाञ्चलका निजी अस्पतालले विरामी तान्न मार्केटिङ एक्ज्युकिटिभ समेत यहाँ खटाएका छन्,’ एक स्थानीयले भने ।

‘मेरी श्रीमती नितुदेवी यादवलाई यहाँ आकस्मिक उपचारमा ल्याउँदा घन्टौं कुर्नु पर्‍यो । त्यहीबेला यहाबाट बाहिर उपचार गराउन लाने हो भने मारुती भ्यान मगाइ दिन्छु भनेर अस्पतालमै मलाई भन्न आइपुगे,’ स्थानीय युवा देवनारायण गुरमैताले भने । औषधि बिक्रि प्रवर्धन गर्ने मेडिकल रिप्रजेन्टेटिभजस्तै निजी अस्पतालको व्यापार प्रवर्धन गर्ने प्रतिनिधिहरुमात्र नभएर चिकित्साकर्मीहरुसमेत यसमा संलग्न रहेको स्थानीयको दावी छ ।

यो कुरा अस्पताल प्रशासनसँग पनि छिपेको छैन । ‘विराटनगर लगायतका निजी अस्पतालमा एउटा विरामी ल्याएबापत एम्वुलेन्स चालकले ५ सय देखी १५ सयसम्म पाउछन् भन्ने हामीले पनि सुनेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। दया शंकरलाल कर्ण भन्छन्, ‘हरेक सरकारी अस्पताल अगाडी एम्वुलेन्स र निजी गाडी हुन्छन्, उनीहरुले बिरामी किनबेचको सेटिङ मिलाएका हुन्छन् ।’ तर, बिरामी किनबेचमा अस्पतालका चिकित्सक, चिकित्साकर्मी समेत संलग्न रहेको दाबीलाई भने डा.कर्णले अस्वीकार गरे । ‘यो काम बाहिरको गिरोहले गरिरहेको हो, अस्पतालको कुनै संलग्नता छैन,’ उनले बताए । उनले यस्तो दलाली रोक्न अस्पतालमात्र नभइ स्थानीय नागरिकसमेतको सहयोगको खाँचो रहेको बताए ।

प्रायः यस्ता ‘उपचार विचौलिया’ हरु बिहान चिकित्सकले अन्तरंग विभागमा राउन्ड लिएर फर्केलगतै विरामी भएको ठाउँमा पस्छन् । विरामी र उनका आफन्तहरुलाई ‘यो अस्पतालमा उपचार नै हुँदैन’, ‘यहीं राख्ने हो भने तपाईंको विरामी मर्छ’ भन्दै आफूले राम्रा निजी अस्पताल लगिदिने बताउँछन् । र, अस्पताल बाहिर तयार अवस्थामा राखिएका मारुती भ्यान र एम्बुलेन्सतिर देखाउछन् ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्