माओवादीबाट प्रदेश नं १ मा गोपाल किराँती मुख्यमन्त्रीको उम्मेदवार, भोजपुरबाट उठ्ने संकेत


 


काठमाडौं, भदौ १४
आगामी मंसिर १० गते हुने भनिएको प्रदेशसभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले प्रदेश नं १ मा मुख्यमन्त्रीका लागि गोपाल किराँतीलाई अघि सार्ने भएको छ ।

सोमबारदेखी विराटनगरमा जारी माओवादी केन्द्र प्रदेश नं १ को सचिवालय बैठकले किराँतीलाई मुख्य मन्त्रीको उम्मेदवारको रुपमा उठाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एंव प्रदेश नं १ का सचिवालय सदस्य सुदन किराँतीले गोपाल किराँतीलाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा सर्वसम्मत निर्णय गरेको जानकारी दिए । सोलुखुम्बुका किराँती भोजपुरबाट चुनाबमा उठ्ने बताइँदै आएको छ ।

भोजपुरको क्षेत्र नं २ बाट किराँतीलाई उठाउने माओवादीभित्र चर्चा चल्दै आएको छ । यो क्षेत्र एमाले पोलिटब्युरो सदस्य एंव पूर्वमन्त्री शेरधन राईले निर्वाचन जितेको क्षेत्र हो । निश्चित निर्वाचन क्षेत्र नभएका गोपाल किराँती यसअघि झापामा केपी ओलीसँग पराजित भएका थिए ।

भोजपुरबाट चुनावमा उठ्नेबारे सुदन किराँतीले भने उहाँ केन्द्रिय नेता हो, जुनसुकै भूगोलबाट पनि चुनावमा उठ्न सक्नुहुन्छ, यही भूगोल भनेर किटान भएको छैन् ।

माओवादी केन्द्रको सचिवालय बैठकले प्रदेश नं १ को राजधानी र नामाकरणका बारेमा पनि छलफल भएको बताएको छ । लिम्बुवान, किराँत र कोचिलाको मर्म अनुरुप नामाकरण साथै राजनीतिक सहमति अनुसार प्रदेशको राजधानी कायम गर्ने निर्णय भएको माओवादी केन्द्र प्रदेश नं १ ले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्