तरकारीमा चरम कालोबजारी, यसरी दोब्बर फाइदा उठाउँदैछन् खुद्रा व्यापारी


 



काठमाडौं, भदौ १४
खुद्रा व्यापारीले तरकारीको मूल्यमा कालोबजारी गरेका छन् । उनीहरूले आफूखुसी ५० प्रतिशतसम्म मूल्य बढाएका छन् ।  कानुनअनुसार खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी जोडेर बिक्री गरिए त्यसलाई कालोबजारी मानिन्छ ।

तर खुद्रा व्यापारीले कतिपय तरकारीमा शतप्रतिशतसम्म मूल्य वृद्धि गरी उपभोक्ता ठगिरहेका छन् । तर पनि सरकारले कारबाहीको कुरा परै जाओस्, अनुगमनसमेत गरेको छैन । आजको अन्नपूर्णमा खबर छ ।

साउन ३१ गते थोकमा कायम भएकोभन्दा अहिले मूल्य निकै घटिसकेको तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । तर खुद्रा मूल्य भने घटेको छैन । उनका अनुसार कालीमाटी थोक बजारमा अहिले दैनिक ६ सय मेट्रिक टन तरकारी आपूर्ति भइरहेको छ । आपूर्ति बढेसँगै थोकमा मूल्य घट्ने क्रम सुरु भएको छ ।

कालिमाटी थोक बजारमा मंगलबार गोलभेंडा किलोको ४० रुपैयाँमा बिक्री भयो । तर त्यही गोलभेंडा खुद्रा व्यापारीले किलोको ८० रुपैयाँमा बिक्री गरिरहेका छन् । उपत्यका वरिपरिका टनेलमा उत्पादित गोलभेंडा अहिले बजारमा आउँदा थोक मूल्य घटेको हो । थोकमा ३१ रुपैयाँ रहेको रातो आलु खुद्रामा ५५ र २९ रुपैयाँ रहेको सेतो आलु खुद्रामा ४५ रुपैयाँमा बिक्री भइरहेको छ ।

यसैगरी, थोकमा ४६ पर्ने प्याज खुद्रामा ६५, २६ को बन्दा खुद्रामा ५०, ७८ को काउली खुद्रामा ९५, ३८ को भन्टा खुद्रामा ४५ र ८२ को बोडी खुद्रामा एक सय १० रुपैयाँमा बिक्री भएको छ । यस्तै ५८ को परबर एक सय १५, ७२ जाने भिन्डी एक सय १० र ५२ पर्ने घिरौ्रलालाई खुद्रा व्यवसायीले सय रुपैयाँमा बिक्री गरेका छन् ।

‘आजसम्म सरकारी नियमनकारी निकायले खुद्रा तरकारी पसलमा अनुगमन गर्न सकेनु, उपभोक्तावादी प्रेमलाल महर्जन भन्छन्, ‘जसका कारण उनीहरू आफूखुसी मूल्य थपेर उपभोक्ताको ढाडै सेक्ने गरी चर्को मूल्य असुल गरिरहेका छन् । राज्यले नियमन नगरेका कारण उनीहरूको मनोबल उच्च भएको हो ।’

बजारको बेथिति नियन्त्रणका नाममा विभिन्न संस्था स्थापना भएका छन् । आपूर्ति विभाग, संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, केन्द्रीय अनुगमन समिति, जिल्ला अनुगमन समिति, उपभोग्य वस्तुको प्रकृतिअनुसार क्षेत्रगत अनुगमन समितिलगायत सक्रिय छन् । तर खुद्रा तरकारी पसलमा सरकारले कुनै पनि अनुगमन नभएको महर्जनले बताए ।

बाढीपहिरोपश्चात् सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार र निजीक्षेत्रको बल्खु तरकारी बजार, बालाजु तरकारी बजार, कलंकी तरकारी बजारलगायत बजारमा केहीबाहेक अन्य तरकारीको मूल्य सामान्य अवस्थामा फर्किसकेको छ ।

थोक बजारमै तरकारीको मूल्य सामान्य भइसक्दा पनि खुद्रा व्यवसायीले उपभोक्ताबाट तरकारीको उच्च मूल्य असुल गर्दै आएका छन् ।कालिमाटीसहित अन्य थोक तरकारी बजारमा काउली, बोडी, भिन्डी, परबर र घिरौंलाबाहेक सबै प्रकारका तरकारीको मूल्य घटिसकेको छ ।

प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्