१२ औं संस्करणको नाडा अटो ‘शो’ शुरु


 


काठमाडौं, भदौ १३
‘नाडा अटो शो’ को १२ औं संस्करण काठमाडौमा शुरु भएको छ । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा भृकृटीमण्डपमा शुरु भएको ‘नाडा अटो शोको भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले उद्घाटन गरे ।

९० व्यवसायीको सहभागीता रहेको प्रर्दशनीमा १ सय ३० वटा स्टल राखिएका छन् । प्रदर्शनीमा १६ ब्राण्डका चार पाङग्रे, १९ ब्राण्डका दुई पाङग्रे, ६ वटा ब्राण्डका हेभी इक्वीपमेन्ट र ८ वटा ब्राण्डका लुब्रिकेन्टस् सम्बन्धी व्यवसायी सहभागी रहेको आयोजकले जानकारी दिएका छन् ।

यस्तै, ४ ब्राण्डका टायर, ४ ब्राण्डका व्याट्री र ग्यारेज इक्वीपमेन्ट पनि प्रर्दशनीमा राखिएको आयोजकले जनाएको छ । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले प्रदर्शनी अटोमोबाइलको लागि कुम्भ मेला भएको भन्दै मेलामा विश्व बजारमा सार्वजनिक भएका पछिल्ला सवारीसाधनको समेत अवलोकन र जानकारी लिन सकिने बताए ।

उद्योग बाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष एवं नाडाका पूर्व अध्यक्ष शेखर गोल्छाले अटो क्षेत्रको विकास बिना अर्थतन्त्रको विकास सम्भव नभएको बताए । मुलुकमा सवारीसाधनको संख्याको बृद्धिले अर्थतन्त्र बढ्ने संकेत रहेको उनको भनाई थियो ।

चेम्बर अफ कर्मशका अध्यक्ष राजेश काजी श्रेष्ठले पनि अटो क्षेत्र बिना विकास असम्भव रहेको बताए । अटो क्षेत्रकै कारण सरकारी राजश्वमा बृद्धिसँगै रोजगारीको अवसर पनि बढेको श्रेष्ठको भनाई थियो ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्