आमाको सम्झना
सपना थामी
आमा ! म आज पनि
उस्तै तिउन पकाउछु,
जस्तो तपाईले सिकाउनुभयो ।
मेरो हिडाई, बोलाई देखेर
सबै भन्छन् – ठ्याक्कै आमा जस्तै छ ।
मेरो सबै जीवन
तपाई कै एक हिस्सा न हो,
म कसरी ?
अरुको धेरै र तपाईको
थोरै बनिदिन्छु..
आमा ! म अनन्तः
तपाईको एक टुक्रा हुँ ।
मलाई राम्रै याद छ,
भाईलाई बुबु चुसाउदै
साहुको काम गर्नुभा’को
धेर थोर पैसा हातमा पर्दा
मीठो–मसिनो खा’को
आमाको मन्दिरमा…
जति ढल्थ्यो दिन,
उति बल्थ्यो दियो…
म कसरी ?
अरुको नजिक
तपाईको टाढा बनिदिन्छु
आमा ! म अनन्तः
तपाईको एक टुक्रा हुँ ।
म आज पनि,
त्यस्तै लुगा लगाउँछु
त्यस्तै कपाल कोर्छु
त्यस्तै रुन्छु अनि हाँस्छु
आमा ! जस्तो तपाईले सिकाउनुभयो ।
लाग्छ, मैले मेरो सास पनि
मेरै आमाले जस्तै फेर्छु ।
स्वार्थ यदि छैन भने,
त्यो आमाको माया हो ।
माया यदि छ भने,
त्यो केबल आमाकै माया त हो ।
म कसरी ?
अरुसँग फूल
तपाईसँग काँडा बनिदिन्छु..
आमा ! म अनन्तः
तपाईको एक टुक्रा हुँ ।
प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार