१५ जना कृषि उद्यमीले पाए ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’
काठमाडौँ, भदौ १३
नेपालको व्यावसायिक कृषिमा योगदान पुर्याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ ।
एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचाैं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गर्नुभयो ।
कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, उत्कृष्ट हुनेमा कृषि उद्यमी अम्बरबहादुर तारामी मगर, दीपेन्द्रकुमार जोशी, हरिराज भट्टराई, जंगबहादुर साह, ख्यामनारायण पौड्याल, प्रेमकृष्ण श्रेष्ठ, रविकृष्ण जोशी, राजेन्द्र देवकोटा, राम पटेल, रामजीप्रसाद तिमिल्सिना, समीक्षा बाँस्कोटा र संग्राम राई हुनुहुन्छ । सत्कर्म कृषि सहकारी संस्था लिमिटेड र शक्तिश्वरी कृषि फार्मलाई पनि सो अवार्ड प्रदान गरिएको छ ।
सोही अवसरमा मन्त्री थारुले ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ ले किसानलाई प्रोत्साहन र हौसला मिलेको हुँदा अवार्डलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले विगत लामो समयदेखि आफ्नो मिडियाले कृषि र कृषकका बारेमा उजागर गर्दै आएको बताउनुभयो । रासस
प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार