दशैँका लागि बसको अग्रिम टिकट बुकिङ अन्यौलमा, के भन्छन् व्यवसायी ?


 


काठमाडौँ, भदौ १३
सार्वजनिक सवारी साधनको भाडादर वृद्धि नगर्दासम्म यातायात व्यवसायीहरूले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने भएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विगत पाँच वर्षदेखि भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने, जाँचपास सहज हुनुपर्ने र केरियर (बसको छत) पनि राख्न पाउनुपर्ने माग गरेको छ । आजको गोरखापत्रमा खबर छ ।

माग पूरा नभए अग्रिम टिकट बुकिङ खुला गर्न नसकिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । विगतमा जस्तै यसपटक पनि चाडबाडका अवसरमा यात्रुवाहक सवारी साधनले मनोमानी भाडा उठाउने र भाडा वृद्धि गर्ने काम यसपटक पनि दोहोर्याउन व्यवसायीहरू सक्रिय भएका छन् । सरकारले यात्रुवाहक सवारी साधनबाट केरियर हटाउने निर्णय गरेको छ तर व्यवसायीहरूले भने राख्न पाउनुपर्ने माग गरिरहेका छन् ।

यातायात व्यवस्था विभागले दशैंको लागि सवारी साधनको टिकट अग्रिम बुकिङ खुला गर्न आग्रह गरे पनि व्यवसायीहरूले भने हालकै भाडादरमा बुकिङ खुलाउन तयार छैनन् । गत असारदेखि यातायात व्यवसायीहरू भाडा समायोजन गर्न विभागलाई निरन्तर दबाव दिंदै आएका छन् ।

व्यवसायीहरूको सहभागितामा विभागले पनि साउनमा भाडा समायोजन समिति गठन गरेर काम गरेको थियो । समितिले प्रतिवेदन तयार गरेर विभागलाई बुझाएको थियो । विभाग र व्यवसायीहरू साउन महिनामै भाडा समायोजनका नाममा वृद्धि गर्ने अन्तिम तयारीमा थिए तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अस्वीकार गरेपछि विभाग पछि हटेको थियो ।

विगत चार वर्षदेखि सार्वजनिक सवारीको भाडादर समायोजन नभएको र बजार भाउ महँगो भएको भन्दै व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन् । एक महिना अघि भाडा वृद्धि गर्न असफल भएपछि दशैंलाई प्रभाव पारेरै भए पनि जनदबाब र यात्रुलाई सास्ती खेपाएरै भए पनि भाडा वृद्धि गराएरै छाड्ने दाउमा छन् व्यवसायीहरू ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गर्न व्यवसायीहरूसँग आइतबार बैठक आयोजना गरेको थियो तर बुकिङ खुला गर्न सहमति हुन नसकेपछि पुनः बैठक बस्ने गरी सकिएको थियो ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्