के भारत र चीनबीचको युद्ध टरेको हो ?
बीबीसी, भदौ १२
भारत सरकारले हिमालय क्षेत्रमा अवस्थित विवादित डोकलाम क्षेत्रबाट फौजहरु फिर्ता गर्न चीनसँग समझदारी भएको बताएको छ ।डोकलामबारे दुवै देशबीच महिनौं यता विवाद चलिरहेको थियो ।
भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको जनाएको छ । भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो ।
तर चीनले डोकलाम आफ्नो भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो । भारतीय विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै भनेको छ, हालैको हप्तामा डोकलाम विवादलाई लिएर भारत र चीनबीच कूटनीतिक तहमा छलफल जारी रहेको छ, यो कुराकानीमा हामीले एक आपसको चिन्ता र हितकाबारेमा छलफल गरेका छौँ ।
यसै आधारमा डोकलाममा जारी विवादलाई लिएर सीमामा रहेका सेना द्रुत रुपमा हटाउने निर्णय गरेका छौ र यस दिशामा काम अघि बढेको छ ।
सीमा विवादलाई लिएर हालैका केहि महिनामा भारत र चीनबीच तनावको वातावरण चलिरहेको थियो । दुई देशले सन् १९६२ मा सीमा विवादकै कारण युद्ध समेत गरेका थिए र अहिले पनि सीमा विवाद देखिने वितिक्कै दुई देशबीच तनावको वातावरण बन्ने गर्छ ।
गएको मे महिनामा डोकलामलाई लिएर शुरु भएको तनावका मझ चीनले सीमा क्षेत्रमा आफ्ना सैनिकको तैनाथी बढाएको थियो । उसले भारतलाई आफ्ना सैनिक फिर्ता गर्न भन्दै आएको थियो ।
भुटानसँग सीमा जोडिएको भारतको उत्तर पूर्वमा अवस्थित सिक्किमको नजिकै पर्ने डोकलाममा चीनले सडक निर्माण गर्न थालेपछि भारतले त्यसको विरोध गरेको थियो ।
उक्त क्षेत्रलाई भारतमा डोकलाम र चीनमा डोंगलोंग भन्ने गरिन्छ । भुटान र चीन दुवैले उक्त इलाकालाई आफ्नो भनेर दाबी गर्छन् । भारतले भुटानले डोकलाममाथि प्रस्तुत गरेको दाबीलाई समर्थन गर्दै आएको छ ।
भारतले उक्त सडकको निर्माण पुरा भएको आफ्नो उत्तर पूर्वी क्षेत्र जोड्ने २० किलोमीटर चौडा ुचिकेन्स नेकु भनिने कुखुराको घाँटी आकारको क्षेत्रमा चीनको पहुँच बढ्ने भन्दै चिन्ता व्यक्त गर्ने गरेको छ ।
सेभन सिस्टर्सु पनि भनिने उक्त क्षेत्र भारतका लागि सामरिक रुपमा निक्कै महत्वपूर्ण मान्ने गरिन्छ । भारत र चीनबीच साढे तीन हजार किलोमिटर लामो सीमा क्षेत्र रहेको छ जसमध्ये कैयौं स्थानमा विवाद रहेको छ ।
प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार