सुनिन छाडे सारङ्गीका धुनहरु….


 


बेनी (म्याग्दी), भदौ १२

कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् ।

देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरु लोप हुँदैछन् ।

सारङ्गीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउथे । गीत संगीतका माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचीत बनाउने गन्धर्वका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छाडेका छन् ।

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन् केही गन्धर्वले । गुल्मी जिल्ला गडगाउँ गाविस–५ घर भई (हाल बागलुङ नगरपालिका–२ बस्ने) टोपबहादुर गन्र्धवले परम्परागत जातीय पेशाबाट आफ्नो चार जना परिवारको गर्जाे टार्ने गरेका छन् ।

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारङ्गी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु २००÷३०० आम्दानी हुने बताउनुहुन्छ । सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारङ्गीको महत्व ह्वात्तै घटेको छ ।

टोपबहादुरले भन्नुभयो, “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चार माध्यमले सारङ्गीको महत्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।”

नेपाली संस्कृतिको महत्व र विरताको गाथा बोकेको सारङ्गीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

सांगीतिक कक्षाको पाठ्यक्रममा सारङ्गी बाजालाई समावेश गरे सारङ्गीले जीवन्तता पाउने बुद्धिजीविको भनाइ छ । युवा वर्गमा जातीय पेशाप्रति हिनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्