पौडेल पक्ष असन्तुष्ट : कतिऔं हो निधिको बरियता, जसले कार्यबाहक सभापति पाए ?


 


काठमाडौं, भदौ ११

सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको छ ।

शनिबार महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा बसेको पौडेल पक्षको भेलाले विधि, प्रक्रिया र पद्धति तोड्दै एक्कासि सभापति देउवाले निधिलाई कार्यवाहक सभापति तोकेको निष्कर्ष निकालेको छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

‘पार्टीमा परामर्श नै नगरी हतारमा कार्यवाहक सभापति तोकिएपछि बैठकमा अधिकांश नेताहरूले असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ भेलामा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘कार्यवाहक बनाउँदा विधि, परम्परा केहीलाई पनि ध्यान दिइएन ।

अकस्मात् कार्यवाहक बनाइयो भनेर साथीहरू असन्तुष्ट हुनुहुन्छ ।’ भारतको राजकीय भ्रमण गर्ने दिन ७ भदौमा देउवाले केन्द्रीय समितिमा आठौँ वरीयताका निधिलाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए ।

विधानतः पार्टी उपसभापति कार्यवाहक हुने व्यवस्था छ । तर, उपसभापति मनोनीत नभएको अवस्थामा सभापतिले पार्टीमा छलफल नै नगरी निधिलाई कार्यवाहक सभापति दिएको पौडेल पक्षको दाबी छ । छलफलविनै कार्यवाहक सभापति तोकेपछि देशभरका नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको पौडेल पक्षको दाबी छ ।

उपसभापति निधिलाई नै बनाउने तयारी स्वरूप देउवाले कार्यवाहक बनाएका हुन् । तर, बैठकमा शशांक कोइरालाले कार्यवाहक सभापतिका विषयमा खास प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्