मंसिरको चुनावी तयारी सुरु, दल दर्ता संख्या कति पुग्यो ?


 



काठमाडौँ, भदौ ११

आगामी मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलहरूको उत्साहजनक सहभागिता हुने भएको छ ।

दल दर्ताका लागि एक दिन बाँकी रहँदा शुक्रबारसम्ममा निर्वाचन आयोगमा दल दर्ता गर्ने राजनीतिक दलको सङ्ख्या ६४ पुगेको छ। दल दर्ताकाे लागि भदाै ११ गतेसम्म अर्थात अाजसम्मकाे समय मात्रै छ । अाजकाे गाेरखापत्रमा खबर छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, व्यवस्थापिका–संसद्मा रहेका शेरबहादुर देउवा सभापति रहेको सत्तारुढ नेपाली काँग्रेस र उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पुशपति शमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले भने दल दर्ता गर्न बाँकी छ ।

काँग्रेससहितले आज दर्ता गर्ने
काँग्रेस नेता बालकृष्ण खाँडले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराउने जानकारी दिनुभयो ।

आयोगमा राजनीतिक दलसम्बन्धी शाखा हेर्दै आउनुभएका शाखा अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार, काँग्रेस, मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), बहुजन शक्ति पार्टी नेपाल लगायतले आइतबार दल दर्ता गर्न आउने जानकारी दिएका छन् । प्रवक्ता शर्माका अनुसार नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्रलगायतका दलले भने यसअघि नै आयोगमा दल दर्ता गराइसकेका छन् । स्थानीय तह निर्वाचनमा ८० राजनीतिक दलले दर्ता गराएकामा जम्मा १४ वटा दलका उम्मेदवार मात्रै विजयी भएका थिए ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्