शेयर बजार : तीन अर्ब बढीको कारोबार, कुन कम्पनीको कति ?


 


काठमाडौँ, भदौ १०

धितोपत्र बजारमा यस साता तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो । गत साता कुल १७८ कम्पनीको तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार बराबरका ८४ लाख ४६ हजार ४६० कित्ता शेयर खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ६१७ दशमलव ८१ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ०४ अङ्कले घटेर ३३९ दशमलव ९४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १९ करोड ७५ लाख ८० हजार बराबरको शेयर कारोबार भएको थियो ।

त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम एक अग्रस्थानमा रहेको छ । सो स्किमको ३६ लाख २३ हजार इकाई कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

स्कटका अनुसार नेपाल एसबीआई बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, विकास ऋणपत्र २०८६ ‘ख’, सिद्धार्थ इन्सुरेन्सको शेयर सूचीकृत भएका थिए ।

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्