कांग्रेस नेतृत्वका लागि जुर्मुराउँदै कोइराला परिवार, को हुन सक्छ भावी सभापति ?


 


काठमाडौं, भदौ १०
कांग्रेसको ७१ वर्षे इतिहासमा ४९ वर्ष कोइराला परिवारको नेतृत्व रह्यो । १३ वटा महाधिवेशनबाट कोइराला परिवारका चार नेताले नेतृत्व गरे । बिपीले २५ वर्ष, मातृकाले ४ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशील कोइरालाले ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।

कोइराला परिवारकै वरिपरि कांग्रेसको राजनीति घुम्यो । कोइराला परिवारबाहिर सुवर्णशमशेरले २ वर्ष र कृष्णप्रसाद भट्टराईले एक पूर्ण कार्यकाल र कार्यबाहकसहित १९ वर्ष कांग्रेस चलाए । तर, भट्टराई नेतृत्वको कांग्रेस पनि कोइरालाको पकडभन्दा बाहिर गएन ।

१३औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवाले जितेपछि भने कांग्रेस कोइराला परिवारको पकडभन्दा बाहिर पुगेको छ । पदाधिकारी, केन्द्रीय समिति, संसदीय दलदेखि जिल्ला कार्यसमितिसम्म देउवाकै वर्चस्व छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

कोइराला परिवारबाट अब कसको नेतृत्व ?

गत ४ साउनमा छलफलपछि सामूहिक तस्बिर सार्वजनिक गरेर एकताको सन्देश दिएका कोइराला परिवारका तीन नेताले आगामी महाधिवेशनमा एक भएर अघि बढ्ने समझदारी बनाएका छन् ।

बिपीपुत्र शशांक महामन्त्री छन् । केशव–नोनापुत्र शेखर र गिरिजापुत्री सुजाता केन्द्रीय सदस्य छन् । लामो समय डाक्टरी पेसा गरेर राजनीतिमा आएका शशांकलाई बिपीपुत्र हुनुको फाइदा छ । तर, शेखर राजनीतिक रूपमा दुई कोइरालाभन्दा अगाडि छन् ।

कार्यकर्तासँगको भेटघाट र देश दौडाहामा शेखर सबैभन्दा अगाडि छन् । सुजातालाई पनि गिरिजापुत्री हुनुको फाइदा छ ।

तीन नेताबीचको सहमतिअनुसार एकजना अघि बढ्नेमा उनीहरू सहमत छन् । तर, अहिले नै नेतृत्वमा को अघि बढ्ने भन्नेमा प्रस्ट भइसकेका छैनन् । ‘उहाँहरूलाई पार्टीको चिन्ता छ ।

एकढिक्का हुँदै जानका लागि भेटघाट गर्ने र खाना खाएर एकताको सन्देश दिनुभएको हो,’ कोइरालानिकट स्रोत भन्छ, ‘उहाँहरूबीचको छलफलमा नेतृत्वमा विवाद नगरी १४औँ महाधिवेशनससम्म मिलेर जाने समझदारी भएको छ ।’

भेटमा शशांकले जसले नेतृत्व गरे पनि आपत्ति नहुने बताएका थिए । राजनीतिक रूपमा बढी समझ शेखरसँग रहेको भन्दै नेतृत्वको विषयमा मिलाउन सकिने उनले बताएका थिए । सुजाताले पनि आफ्नो स्वास्थ्यका कारण नेतृत्वमा दाबी नरहने संकेत दिएकी थिइन् ।

रामचन्द्र पौडेलले देउवासँग अब ‘फाइट’ गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूमध्येबाटै एकलाई नेतृत्वमा अघि सार्ने निष्कर्षमा कोइरालात्रय पुगेका हुन् । बिपीका जेठा छोरा प्रकाश कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् ।

देउवाले कांग्रेसको कमान्ड सम्हालेको डेढ वर्ष भएको छ । छोटो अवधिमै कोइराला परिवारका शशांक, शेखर र सुजाता देउवाप्रति असन्तुष्ट बनेका छन् । सामान्य अवस्थामा एक–अर्काकोमा सँगै नजाने, नबस्ने र खानासमेत नखाने गरेका उनीहरूले ४ साउनमा संयुक्त बैठक गरे ।

महामन्त्री शशांकको टोखास्थित घरमा बिहानको खानासहितको छलफलपछि उनीहरूले सामूहिक तस्बिर सामाजिक सञ्जालबाट बाहिर ल्याए ।

छलफल देउवाको डेढवर्षे नेतृत्वबारे समीक्षा र १४औँ महाधिवेशनमा कसरी जाने भन्ने पारिवारिक सल्लाहमा केन्द्रित थियो । आगामी महाधिवेशनको नेतृत्वसम्मको खुला कुराकानी नभए पनि कोइराला परिवारले आफूहरू एकजुट भएको स्पष्ट सन्देश भने दिएको थियो ।

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्