दुर्घटनामा बेपत्ता भनिएका व्यक्तिको शव जीप भित्रै


 


जुम्ला, भदौ  ९

पातारासी गाउँपालिकाको डिल्लीचौर लोर्पा गाउँनजिक भएको जीप दुर्घटनाका बेपत्ता दत्त बुढाको शव फेला परेको छ ।

भे १ च २१४४ नंको महिन्द्रा जीप बुधबार दुर्घटना भई तिलानदीमा खस्दा उनी बेपत्ता भएका थिए । उनी बेपत्ता भएसँगै प्रहरी र स्थानीय समुदाय उद्धार कार्यमा खटिएपनि राति भएकाले उनलाई भेटृाउन सकिएको थिएन । बिहीबार बिहानैदेखि भगवती दल गण, जुम्लाका गणपति सुशीलकुमार थापा र प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले गाडीभित्रै शव फेला पारेको हो ।

दुर्घटनास्थलको धेरै तलसम्म हेर्दा लास कतै नभेटिएपछि गाडी निकाल्न खोज्दा त्यसभित्रै च्यापिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

बुढाको शव निकालेर बिहीबार नै शवपरीक्षण गरी आफन्तलाई बुझाइएको उहाँको भनाइ छ । बुढाको बिहीबार नै दाहसंस्कार गरिएको छ । जिप सडकबाट २०० मिटर तल तिलानदीमा खसेको थियो । उक्त सडकमा गाडी चलाउन कुनै रुट पर्मिट नदिइएको जनाइएको छ । रासस

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्