आज हरितालिका तीज


 



काठमाडौँ, भदौ ८

भाद्र शुक्ल तृतीयाका दिन अाज (बिहीबार) हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि योग्य वर पाएकी थिइन् । त्यसपछि यो पर्व मनाउने चलन बसेको हो ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।  पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सोही अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्